३० बैशाख २०८१, आईतवार

निर्मला पन्त हत्या प्रकरण : संलग्न भनिएका विष्ट २१ दिनपछि रिहा



धनगढी । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट २१ दिनपछि रिहा भएका छन् ।
भदौ ४ गते प्रहरीले विष्टलाई पक्राउ गरी निर्मला हत्याको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ४ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका विष्ट र निर्मलाको डिएनए मेल नखाएपछि मंगलबार रिहा भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । डिएनए परीक्षणको प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेको हो ।
निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डीएनए र दीलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको थियो । विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ ।

बम दिदीबहिनी पनि छुटे
स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिइएका बम दिदीबहिन पनि रिहा भएका छन् । निर्मलाकी साथी भनिएकी रोशनी बम र उनकी दिदी बबिता बम सरकारी वकिलको हाजिरी जबानीमा रिहा भएकाको कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए । रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् हुन् भने उनकी दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी छन् ।
साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको अर्काे दिन भीमदत्त नगरपालिका–२ र १८ को निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार