३१ बैशाख २०८१, सोमबार

अट्वारी पर्वमा बिदाको माग गर्दै ज्ञापनपत्र



धनगढी । आदिवासी थारू समुदायले अट्वारी पर्वमा सार्वजनिक बिदाको माग गर्दै प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।
भदौ ३१ गते पर्न गएको अट्वारी पर्वमा एक दिन सार्वजनिक बिदाको माग गर्दै प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मुख्यमन्त्री भट्टलाई थारू कल्याणकारिणी सभा (थाकस), थारू नागरिक समाज, थारू विद्यार्थी समाज, थारू पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मुक्तकमैया समाज, कमैया प्रथा उन्मुलन समाज, मुक्तकमैया महिला विकास मञ्च, मुक्तकमलरी विकास मञ्च, व्याक वार्ड सोसाइटी एजुकेसन बोर्ड (बेस)लगायत संघ/संस्थाहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
भदौ शुक्ल पक्षको पहिलो आइतबार अर्थात् भदौ ३१ गते पर्न गएको अट्वारी र पुस अन्तिम दिन र माघ १ गते गरी दुई दिन माघी पर्वमा सार्वजनिक बिदाको माग गरिएको हो ।
ज्ञापनपत्रमा उल्लेख छ, ‘जनै पूर्णिमा, गौरामा सरकारले बिदा नदेओस् भन्ने हाम्रो माग र चाहना होइन । हाम्रो माग र चाहना भनेको सरकारले हाम्रो चाडपर्वलाई पनि उत्तिकै सम्मान गरोस् । त्यसमा बिदा देओस् भन्ने हो ।’
ज्ञापनपत्र बुझाउन पुगेका टोलीलाई मन्त्री शाहले सार्वजनिक बिदाप्रति आफू सकारात्मक रहेको बताए । मन्त्री परिषद बैठकमा बिदाबारे आफै प्रस्ताव लग्ने प्रतिवद्धता जाहेर गरे ।
यसैबीच प्रदेश न–५ मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइएको छ । थारू अगुवाहरूले थाकस दाङको अगुवाईमा आइतबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
धार्मिक, ऐतिहासिक महत्त्व बोकेको अट्वारी पर्व थारू समुदायको मौलिक पर्व हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार