१५ मंसिर २०७९, बिहीबार

सरकारले दुई तिहाईको दम्भ देखाइरहेको छ– नेता सिटौला



धनगढी । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै संविधान विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा सोमबार अत्तरियामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता सिटौलाले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर एकपछि अर्को गर्दै संविधान मिच्दै गएको आरोप लगाए ।
नेता सिटौलाले भने– “वर्तमान सरकारमा रहेको दम्भका कारण जनतामा निरासा छाएको छ । दुई तिहाइको दम्भले कम्युनिष्ट सरकारले जे गरे पनि हुन्छ भन्ने मानसिकता देखाउँदा सबैभन्दा बढी गरिब जनता मारमा परेका छन् ।”
उनले वर्तमान सरकारको गलत निर्णय तथा कामकारबाहीका कारण आमजनताका साथै कर्मचारी, न्यायालय, प्रेस जगत सबैतिर निराशा बढेको दावी गरे । भने– ओली नेतृत्वका सरकारले बारम्बार समृद्धिको कुरा गर्छ, तर आफ्ना गलत कामकारबाहीका कारण मुलुकलाई पतनतिर धकेल्दै गएको छ ।
नेता सिटौलाले नेकपाको सरकारले आफ्नो पार्टीलाई मात्र बलियो बनाउने काम गरिरहेको आरोप लगाए । उनले भने– “मलुकमा बलात्कार, हिंसासहित जघन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । तर, सरकारलाई यी कुराको कुनै चासो छैन । यसले आम नागरिकमा निरासा बढाएको छ ।”

प्रतिक्रिया दिनुहोस्