३० बैशाख २०८१, आईतवार

अपांगता भएका युवाहरू खेलकुदतर्फ अग्रसर हुँदै



धनगढी । प्रदेश ७ का अपांगता भएका युवाहरू खेलकुदतर्फ अग्रसर हुन थालेका छन् । प्रदेशमा डिआइए स्पोर्ट्स क्लवमा आवद्ध रहेका अपाङ्गता भएका युवाहरू बास्केटबल खेलको प्रशिक्षणमा रहेका छन् ।
शनिबार नेपाल स्पाईनल कोर्ड इन्जुरी स्पोटर््स एसोसिएसनको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश सातका नौ वटै जिल्लाका १२ जना अपांगता भएका युवा सहभागी रहेका थिए । उनीहरूलाई अपांगता भएका प्रशिक्षक हिमाल अर्यालले प्रशिक्षण दिएका थिए ।
उनीहरूले हातले ह्विल चियर गुडाउँदै बास्केटबल आफ्नो साथीलाई पास गर्दै रिङको माथिबाट बल छिराउँदै खेलिरहेका थिए ।
‘परिर्वतन सम्भव छ’ भन्ने नाराका साथ अपांगता भएका युवाहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको प्रशिक्षक अर्यालले बताए । उनले अपांगता भएका व्यक्तिहरूलाई राज्यका प्रत्येक ठाउँमा अपाङमैत्री वातावरण सिर्जना गर्न दवाव दिन पनि एसोसिएसनले बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
प्रशिक्षक अर्यालले अपांगता भएका व्यक्तिहरूले पनि खेलकुदका माध्यमबाट आफ्नो पहिचान बनाउन सक्ने बताए । ‘राज्यले अवसर र वातावरण बनाएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि पनि खेलकुदका माध्यमबाट विश्वमा देशको नाम उचा बनाउन सक्ने छन्’ उनले अपाङ्गता भएका व्यक्तिलाई पनि सबलाङ जस्तै खेल खेल्न सक्छन भन्ने आत्मविश्वास दिन जरुरी रहेको बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल अपांग महासंघ प्रदेश ७ का अध्यक्ष भीमबहादुर शाहले अपांगता भएका व्यक्तिहरू पनि खेलकुदमा सक्षम भए पनि राज्यले अवसर दिन नसकेको बताए । उनले आर्थिक अवस्था कमजोर, भौतिक स्रोत साधन नहुँदा अपांगता भएका व्यक्तीहरू खेलकुदमा लाग्न नसकेको बताए ।
उनले राज्यले अपांगता भएका व्यक्तिहरूका लागि खेलकुद प्रतियोगिताको आयोजना गर्नु आवश्यक रहेको बताए । उनले अपांगता भएका व्यक्तिहरूलाई खेलकुद क्षेत्रमा आकर्षण तथा प्रोत्साहन गर्न सरकारसँग दवावमूलक कार्यक्रम आवश्यक रहेको बताए ।
स्पोर्टस क्लवका रामप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भवानी ऐर, बास्केटबल प्रशिक्षक हिमाल अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका दीर्घबहादुर स्वाँरले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार