२९ बैशाख २०८१, शनिबार

पन्त हत्या प्रकरण : आफन्तको माग– नया सिराबाट अनुसन्धान गर



धनगढी । पाँच वर्ष अघि कैलालीको धनगढी उपमहानगरपालिका, तारानगरका ओमप्रकाश पन्त हत्या प्रकरणको नयाँ सिराबाट अनुसन्धान गर्न आफन्तहरूले माग गरेका छन् ।
पन्तको हत्या भएको पाँच वर्षभन्दा बढी भइसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै नयाँ सिराबाट अनुसन्धान गर्न आफन्तले माग गरे ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वर्गीय ओमप्रकाशका बुबा श्रीकृष्ण पन्तले ‘घटनाको प्रारम्भिक देखिनै प्रहरीले नाटकिय ढंगले अनुसन्धान गरेकाले अहिलेसम्म दोषी पत्ता लाग्न नसकेका’ आरोप लगाए । उनले घटनाको अनुसन्धानका लागि छुट्टै अनुसन्धान टोली गठन गरी सूक्ष्म रुपमा प्रभावकारी ढंगले अनुसन्धानका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
उनले आफ्नो छोरा ओमप्रकाशको हत्या नै भएको दाबी गरे पनि प्रहरीले जघन्य जस्तो अपराधलाई अर्कै रुप दिने उद्देश्यले उत्प्रेरित भई हत्यामा प्रयुक्त सबै खाले प्रमाणहरूको आकलन नगरी प्रमाणरहित र अति फितलो र निकै कमजोर अनुसन्धानात्मक बयानहरूको मुचुल्काको दस्तावेज मात्र तयार पारेको बताए ।
ओमप्रकाश २०६९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा मृत अवस्थामा फेला परेका थिए । राती १० बजे आफन्तले प्रहरीलाई सुरक्षाका लागि माग गर्दा पनि प्रहरीले ध्यान दिएको थिएन् ।
घटना भएदेखि अहिलेसम्म पन्त परिवार हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय, प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायतका विभिन्न स्थानमा धाइरहेको छ । तर, सम्बन्धीत निकायले घटनाबारे चासो नदिएको बुबा श्रीकृष्णले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार