३० बैशाख २०८१, आईतवार

अटोमै बच्चा जन्मियो



धनगढी । सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल आउदै गरेकी एक महिलाले अस्पताल नपुग्दै अटोमै बच्चा जन्माएकी छन् । अस्पतालको गेटमा अटोमै बच्चा जन्माएपछि हेर्नेको पनि भिड लागेको थियो ।
प्रदेश ७ को अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ए गाउँ, जुगेडाकी २५ वर्षीय पार्वती थापाले मंगलबार दिउसो साढे एक बजेतिर सेती अञ्चल अस्पतालको गेट मै अटोरिक्सामै बच्चा जन्माएकी हुन् । उनको दोस्रो सन्तानका रुपमा अटोमा छोरा जन्मिएको छ ।
यसअघि उनको एक छोरी छिन् । धनगढीस्थित सेती अञ्चल अस्पतालबाट करिब सात किलोमिटरको दुरीमा रहेको जुगेडाबाट सुत्केरी व्यथा लागेकी पार्वतिलाई उनकी दिदी चन्द्रा थापाले अटोरिक्सामा अस्पताल ल्याएकी थिइन् ।
घरमा अरु मान्छे पनि कोही नभएको र पार्वतिका श्रीमान रोजगारीका सिलसिलामा भारत रहेकाले उनकी दिदी चन्द्राले पार्वतीलाई अस्पताल ल्याएकी थिइन् । चन्द्राले भनिन– ‘एकाएक पार्वतिलाई सुत्केरी व्यथा लागेपछि अटोरिक्सा बोलाएर अस्पताल ल्याए, अस्पतालभित्र नपुग्दै गेटमा बच्चा निस्कन थाल्यो । अनि अटो रोकेर अस्पतालका स्वास्थ्यकर्मीलाई अटोमै बोलाएर सामान्य सहयोगपछि बच्चा जन्मियो ।’
‘बच्चा निस्कनै लाग्यो अस्पतालभित्र पुऱ्याउने अवस्था पनि भएन’ थापाले भनिन्– अटोरिक्सा वरिपरी त्यहाँ भएका महिलाले घेरेर बच्चा जन्मायौं ।’
अटोमा बच्चा जन्मिदैं छ भन्ने हल्ला भएपछि एकाएक वरिपरी भिडभाड लागेको थियो । अटोरिक्सा चालक बलराम पाठकले भने– ‘बिरामी लिनुपर्ने छ भनेर मलाई बोलाए, बाटोमै सुत्केरी व्यथाले अत्याधिक च्यापेको थियो, अस्पतालको गेटमा पुगेपछि त बच्चा नै जन्मिहाल्यो ।’ बच्चा जन्मिसकेपछि सुत्केरी थापालाई अस्पतालको प्रसुति कक्षभित्र लगिएको थियो ।
आमा र छोरा दुवैको स्वास्थ्य राम्रो रहेको सेती अञ्चल अस्पताल प्रसुति विभागकी नर्स लक्ष्मी शाहले बताइन् । उनका अनुसार नवजात शिशुको तौल तीन किलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार