३० बैशाख २०८१, आईतवार

एसपीएमा बीआइएम र बीएचएम पढाई शुरु हुँदै



धनगढी । प्रदेश नम्बर ७ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सुदूरपश्चिमाञ्चल क्याम्पस स्नातक तहमा चालू शैक्षिक सत्रदेखि बीआइएम र बीएचएम विषयको पढाई शुरु हुने भएको छ ।
सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) सो विषयका सम्बन्धन पाएसँगै यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गरिने जनाएको छ ।
राष्ट्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीका थुपै सम्भावना रहेको यो विषयको अध्यापन धनगढीमै शुरुभए सँगै विद्यार्थी र अभिभावकमा आर्कषण र उत्साह थपिएको क्याम्पसका निर्देशक सुवाश शाहीले बताए । उनले यो विषयले विद्यार्थी र अभिभावकका साथै पर्यटन व्यवसायमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यो विषयलाई व्यवस्थित तथा प्रविधियुक्त र प्रयोगात्मक रूपमा अध्ययन तथा अध्यापन गराउन सम्पूर्ण पूर्वाधारहरू समेत तयार पारिएको क्यमम्पस व्यवस्थापनले जनाएको छ ।

बीआइएम कस्तो विषय हो ?
व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाई हुने विषय हो बीआइएम । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाइ हुन्छ । “सूचना प्रविधिको जमानामा विद्यार्थीलाई यसबाट विमुख गर्न सकिदैन, त्यसैले व्यवस्थापनसगै कम्प्युटर विज्ञान पढ्न चाहनेहरूका लागि यो विषय निकै उपयोगी छ” एसपीएमा निर्देशक शाही बताउँछन् ।
यसमा बीबीएजस्तै चार वर्षे कोर्ष हो । यसलाई ६ महिनाको आठ सेमेस्टरमा बाँडेर पढाइन्छ । यसले विद्यार्थीलाई विजनेश इन्फर्मेशन सिस्टम, त्यसको विष्लेषण, डाटा प्रोसेसिङ, नेटवर्क विस्तार, सफ्टवेयर निर्माणलगायतका ज्ञान दिन्छ् । व्यवस्थापकलाई आबश्यक सफ्टवेयर निर्माण गर्न अर्को जनशक्ति खोज्नु नपरोस् भन्ने यो विषयको उद्देश्य भएको निर्देशक शाहीले बताए । त्रिभुवन विश्वविद्यालयको बीआइएमको सम्बन्धन लिने सुदूरपश्चिमाञ्चल क्याम्पस प्रदेश ७ को पहिलो क्याम्पस हो ।

बीएचएम कस्तो कस्तो विषय हो ?
अध्ययनपछि सोझै रोजगार पाइने प्रयोगात्मक विषय हो होटल म्यानेजमेन्ट । यसबाट प्रमाणपत्र मात्र होइन, सीप पनि आर्जन हुन्छ । नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको मुलुकका लागि उपयुक्त विषय पनि हो यो । यसमा पाककलादेखि अतिथि सत्कारसम्मको ज्ञान दिइन्छ ।
होटल म्यानेजमेन्टले नेपालमा मात्र नभएर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्ने भएकाले पर्यटन व्यवसायसँग सम्बन्धित दक्ष जनशक्तिलाई सधैं रोजगारीको ढोका खुला रहने गर्दछ ।
होटल लगायतका सेवा व्यवस्थापनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्ट अध्ययन गर्नु अनिवार्य मानिन्छ । यसअन्तर्गत फुड प्रोडक्सन, हाउस किपिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मार्केटिङ, फ्रन्ट अफिस, सभिर्सजस्ता विषय पढ्नुपर्छ । यो विषय पढ्नेहरूले होटल, ट्राभल एजेन्सीजस्ता सेवाका कुनै पनि क्षेत्रमा काम गर्न सक्ने एसपीएका निर्देशक शाही बताउँछन् ।
त्यसो त नेपालमा मात्र होइन्, विश्व रोजगार बजारमै यस्तो जनशक्ति खपत हुने गरेको छ । अब्रोड स्टडीको तयारी गरिरहेका नेपाली विद्यार्थीहरूले विदेशमा काम गर्दै पढ्ने मानसिकता बनाउने गरेका छन् । यस्ता विद्यार्थीले पनि नेपालमै होटल म्यानेजमेन्ट अध्ययन गरेर जाँदा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पहिलो पटक प्रदेश नम्बर ७ मा एसपीएले यो विषयको अध्यापन शुरुगर्न थालेको छ । बीएचएमको चार वर्षे कोर्समा आठ सेमेस्टर पढाई हुने गरेको छ । दश जोड दुई वा प्रमाणपत्र तहको पढाई पूरा गरेकाले बीएचएममा भर्ना पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार