१२ श्रावण २०८१, शनिबार

टोलटोल पुग्दै प्रहरी



धनगढी । समाजमा शान्ति सुरक्षामा सुधार ल्याउन नेपाल प्रहरीले टोलटोलमा प्रहरी अभियान, २०७५ लाई निरन्तरता दिएको छ ।
अभियानकै क्रममा वडा प्रहरी कार्यालय, धनगढीले वडा नम्बर ५, हसनपरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गर्दै उपमहानगरपालिकाको वडा नम्बर ६ जालीमा सोमबार बृहत छलफल चलाएको छ ।
जनतासंग सहकार्य गरी सामाजिक अपराध न्यूनीकरण गर्न प्रहरीले टोलटोलमा प्रहरी अभियानलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरिक्षक वकिलबहादुर सिहंले प्रहरीको एक्लैको प्रयासबाट टोल समाजमा अपराधिक घटना रोक्न नसकिने बताए ।
जिल्ला प्रहरी कार्यालय कैलाली महिला तथा बालबालिका सेलका प्रहरी निरिक्षक भगवती तिमिल्सैनाले पछिल्लो समयमा महिला हिंसा, बलात्कारका घटना ब्यापक रुपमा भईरहेको बताउँदै यस्ता घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरीले प्रहरीले संचालन गरिरहेको टोल टोलमा प्रहरी अभियानले जनतालाई सुरक्षाको प्रत्याभूति भएको बताए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र धनगढीका सचिव भीमबहादुर चौधरी र मानवअधिकारकर्मी विदेशराम चौधरीले समाजमा हुने अपराधिक क्रियाकलाप रोक्न समाजको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार