१२ श्रावण २०८१, शनिबार

गौरा महोत्सव शुरु



धनगढी । गौरा पर्वको अवसरमा शनिबारदेखि धनगढीमा गौरा महोत्सव सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, प्रदेश ७ को आयोजना शुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।
महोत्सवको एक समारोहबीच प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले कला, संस्कृति संरक्षण तथा संवद्र्धनमा सबैपक्ष एकजुट हुन आह्वान गरे । प्रदेश प्रमुख मल्लले प्रदेशका केही महत्त्वपूर्ण सांस्कृतिक पर्व, संस्कृति लोप हुने अवस्थामा पुगेको चर्चा गरे ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) को अध्यक्षतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेश नम्बर ७ का प्रदेश सभाका सदस्य डिल्लीराज पन्त र टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका कार्यवाहक मेयर हिरासिंह पातली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गौरा महोत्सवमा महिला र पुरुषको छुट्टाछुट्टै देउडा, बाल देउडा गायन, एकल प्रस्तुति, गौरा पर्व सम्बन्धि नाच तथा झाँकीहरू र स्थानीय भेषभुषा झल्किने अन्य नृत्यहरू समावेश गरिएको आयोजक समिती संयोजक रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार