थारू कल्याणकारिणीको साधारण सभा शुरु
टीकापुर । थारू कल्याणकारीणी सभाको शुक्रबारदेखि क्षेत्र नम्बर १ टीकापुरमा क्षेत्रीय साधारण सभा शुरु भएको छ ।
साधारण सभाको एक समारोहबीच प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले उद्घाटन गरे । सो अवसरमा सांसद चौधरीेले टीकापुर घटनामा आरोपित सबैलाई नि:र्शत रिहा गर्न माग दोहार्याए ।
उनले थारू समुदायका सांसदहरूले समेत थारूका हकहितका मुद्दाबारे चासो लिन छोडेको आरोप लगाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रणबहादुर रावलले थारू समुदायबाट नै समाजवाद, लोकतन्त्र र राष्ट्रियताबारे सिक्नु पर्ने बताए ।
कार्यक्रममा पूर्व सांसद कैया चौधरी तथा प्यारेलाल राना, थारू कल्याणकारिणी सभाका सल्लाहाकार गोपाल चौधरी, लालबिर चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य माधव चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, जिल्ला समन्य समितीका सदस्य विष्णु चौधरी, लौटन चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष भगवती चौधरीले स्वागत गरेको सो कार्यक्रमको सचिव मान बहादुर चौधरीले सञ्चालन गरेका थिए ।
साधारण सभामा गत आर्थिक वर्ष २०७४/०७५ को १७ लाख ३५ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।