१२ श्रावण २०८१, शनिबार

बैंकलाई ब्रोकर लाइसेन्स दिने अर्थमन्त्रीको भनाई



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई ब्रोकर लाइसेन्स दिने नीति कार्यान्वयनमा ल्याउन केही दिनभित्रै बैंकर्सहरुसँग छलफल गर्ने बताएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न दिने भनेको छ । यही व्यवस्था कार्यान्वयन गर्न अब केही दिनमै आफूले बैंकर्सहरुसँग छलफल गर्ने उनले बताएका हुन् । बैंकले ब्रोकर लाइसेन्स पाएपछि पुँजी बजारको पहुँच देशव्यापी हुने पनि अर्थमन्त्रीले बताए ।
नेपाल पुँजी बजार लगानीकर्ता संघसँग बुधबार भएको भेटमा अर्थमन्त्री खतिवडाले सेयर बजारको विकास र विस्तार भएको आफूले हेर्न चाहेको पनि बताएका छन् । भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता पनि अर्थमन्त्रीले दोहोर्याए ।
अर्थमन्त्री खतिवडाले हकप्रद र बोनस सेयरमा कसरी कर लगाउने भनेर ४–५ दिनभित्रै टुंगो लगाउने समेत लगानीकर्तालाई जानकारी गराए । अर्थमन्त्रीलाई उदधृत गर्दै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘यो विषय कहाँ पुगेको छ भनेर म पनि अपडेट हुन बाँकी नै थियो । ठीक छ तपाईंहरुले सम्झाइदिनु भयो, म आज नै यो विषयमा छलफल गर्न लगाएर केही दिनमा नै निष्कर्षमा पुर्याउनेछु ।’
लगानीकर्ताले अर्थमन्त्रीलाई दोस्रो बजार प्रविधि र लगानीमैत्री बनाउनुपर्ने, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सेयर बजारमा लगानी गर्न व्यवहारिकरुपमै वातावरण मिलाउन पनि अनुरोध गरेका छन् । सरकारले सेयर बजारलाई बेवास्ता गर्दा दैनिक अर्बौको कारोबार हुने बजार अहिले करोड हुँदै लाखमा झरिसकेको उनीहरुले स्मरण गराएका थिए । समयमा नै यस विषयमा सम्बोधन गर्न समेत लगानीकर्ताले अनुरोध गरे ।
बजारमा अहिले आईपीओ तथा एफपीओ समेत बिक्री नहुने अवस्था आएको प्रति गम्भीर हुनसमेत लगानीकर्ताले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । संघले अनलाइन ट्रेडिङलाई तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ ।

नेपाली पैसा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार