११ श्रावण २०८१, शुक्रबार

जिसस प्रमुख थापाद्वारा शैक्षिक सामग्री वितरण



धनगढी । जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले आफ्नो पारिश्रमिक रकमबाट २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जिसस प्रमुख थापाले आफ्नो पारिश्रमिकबाट किनेको शैक्षिक सामग्री प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापाले मंगलबार एक समारोहबीच बालबालिकालाई वितरण गरे ।
सो अवसरमा सभामुख थापाले सानो सहयोग जस्तो देखिए पनि कुनै पनि विद्यार्थीको जीवनमा शैक्षिक सामग्री सहयोगको ठूलो महत्त्व राख्ने चर्चा गरे ।
जिल्ला समन्वय समिति प्रमुख थापाले आफ्नो वर्षभरीको सबै पारिश्रमिक कैलाली जिल्लाका एक सय जना बालबालिकाको शिक्षादिक्षामा खर्च गर्ने बताए । उनले आफ्नो योजनाअनुसार मंगलबार कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर १ र ५ का २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको बताए । जिसस प्रमुख थापाले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई झोला, कापी, कलम र जुत्ता तथा खाजा खर्चका लागि दैनिक ३० रुपैयाँ विद्यालय मार्फत उपलव्ध गराइने जनाइएको छ ।
स्वास्थ्यकर्मी जयकला रावलको पहलमा विपन्न परिवारका २० जना बालबालिका खोजिएका थिए । तीमध्ये अधिकांस बालबालिका स्कूल भर्ना समेत भएका छैनन् । जिसस प्रमुख थापाले उनीहरूलाई स्कूल भर्नाका लागि सहयोग गर्ने पनि घोषणाा गरे ।
प्रमुख थापाले एक सय जना बालबालिकालाई शैक्षिक सामग्री तथा दैनिक खाजा खर्च उपलब्ध गराउने बताए । उनले आफू जिल्ला समन्वय समितिको प्रमुख भएपछि अहिलेसम्म चार लाख ४१ हजार रुपैयाँ जम्मा भइसकेको बताए । आफ्नो पारिश्रमिक रकमबाट एक सय जना बालबालिकालाई शैक्षिक सामग्री तथा खाजा खर्च वितरण गर्न अपुग भएमा अन्यत्रबाट समेत जोहो गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार