१२ श्रावण २०८१, शनिबार

सामाजिक परिचालकहरूको र्‍यालीमा प्रहरी हस्तक्षेप



धनगढी । गत सातादेखि आन्दोलनमा रहेका सामाजिक परिचालकहरूले सोमबार निकालेको शान्तिपूर्ण विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
‘स्थानीय तहका वडाहरूमा एक पटकका लागि उमेरको हदबन्दी नलगाई योग्यताका आधारमा दरबन्दी कार्य गरी कर्मचारी समायोजन गर्न’ माग गर्दै गत सातादेखि आन्दोलनमा गरिरहेका सामाजिक परिचालकहरूको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
सोमबार धनगढीको बसपार्कदेखि मुख्यमन्त्री कार्यालय हुँदै प्रदेश सभासम्म विरोध र्‍याली निकालेका थिए । ब्यानर तथा प्ले कार्ड बोकेर प्रदेश सभाको अगाडि पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । र्‍यालीमा सहभागी सामाजिक परिचालकहरूले प्रहरीले आफ्नो ब्यानर, प्लेकार्ड, माइक स्पिकर खोस्नुका साथै पाँच जनालाई नियन्त्रणमा लिएको बताए ।
प्रहरीले सामाजिक परिचालक संघ प्रदेश अध्यक्ष खडक कैनी, आन्दोलन परिचालन समितिका संयोजक माधव जोशी, गोविन्द बिष्ट, जगदिश जोशी र कल्पना रावललाई नियन्त्रणमा लिएको बताइएको छ । उनीहरूलाई सोमबार साँझ मुक्त गरिएको थियो ।
‘हामीले आफ्ना माग सहित शानितपूर्ण र्‍याली गर्दा पनि प्रहरीले हस्तक्षेप गरेको छ– आन्दोलन परिचालन समितिका संयोजक जोशीले भने– हामी प्रहरीको दमन रोक्न र सामाजिक परिचालकको माग पुरा गर्न सरकारसँग जोडदार माग गर्दछौं । प्रहरीले र्‍यालीमा हस्तक्षेप गरेपछि केही बेर प्रहरी र आन्दोलनकारीबीच तनाव भएको थियो ।
सामाजिक परिचालकहरूले केही दिन अघि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसंग भएको मौखिक सहमति कार्यान्वयन नभएपछि आन्दोलन अघि बढाएको बताए ।
‘हामीसंग भएको सहमतिबारे अहिलेसम्म प्रदेश सरकारले कुनै सुनुवाई गरेको छैन’ प्रदेश ७ का अध्यक्ष कैनीले भने– त्यसैले हामी पुन: आन्दोलनमा उत्रिन बाध्य भयौं ।
उनले सरकारले आफना माग पुरा नगरेसम्म आन्दोलनका कार्यक्रम थप कडा बनाउदै लगिने बताए । उनले प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधीहरूलाई ज्ञापनपत्र बुझाउँदा समेत कतैबाट सुनुवाई नभएकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार