१२ श्रावण २०८१, शनिबार

निर्मला पन्त हत्याकान्ड : निलम्बित एसपीका छोराले के भने



nirmala pantकाठमाडौं। महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अझै रहस्यमै छ। प्रहरीले गत सोमबार स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि पीडित परिवारले विश्वास गरेका छैनन्।
प्रहरीले फेरि घटनाको अनुसन्धान अघि बढाएको छ। स्थानीयले घटनामा कोही पहुँचवाला व्यक्तिको संलग्नताको आशंका गरेका छन्। जसमा कञ्चनपुरबाटै हटाइएका एसपी डिल्लीराज बिष्टका छोरामाथि समेत आशंका गरेका छन्।
एसपी बिष्टका छोरा किरण निर्मलाको हत्या भएको दिन महेन्द्रनगरमै थिए। जसकारण उनीमाथि समेत कतिपयले आशंका गरेका छन्। तर, त्यो आशंका र हल्लाले आफूलाई ठूलो तनाव भएको किरण बताउँछन्। सोमबार नेपाल लाइभ आइपुगेका उनले भने,‘म फोटोग्राफर हुँ, त्यो दिन म ओपेरा होटलमा फोटो खिच्न व्यस्त थिए, साँझ आफ्नै घरमा साथीहरुसँग बर्थडे मनाएको थिए। म माथि अनुसन्धान गरियोस् तर प्लिज यसरी बदनाम गराउने काम नहोस्।’
घटनामा आफ्नो संलग्नताको आशंकाको हल्लालाई समाचार बनाइएपछि घरबेटीले समेत आफू बस्न नदिएको उनले सुनाए। उनी कोटेश्वरमा बस्दछन्। घरमा पुलिस आउँछ भनेर आफूले घरबेटीले बस्न नदिएको र साथीको घरमा बस्न थालेको उनले सुनाए।
‘मलाई इन्टरनेशनल प्रोजेक्ट आएको थियो, यही कारण काम गर्न सकेको छैन,’ उनी भन्छन्,‘साथीहरुले अचम्म मानिरहेका छन्, म आफैंलाई आरोप सहन गाह्रो भइरहेको छ।’
प्रहरीले आशंका गरेर पक्राउ गरेका बम दिदी–बहिनीसँगको आफ्नो कुनै चिनजान नभएको र त्यसबारे अनुसन्धान गर्न उनको आग्रह छ।

-नेपाल लाइभ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार