१६ बैशाख २०८१, आईतवार

लापरवाही गर्ने कर्मचारीको नसिहतसहित ग्रेड रोक्का



धनगढी । काममा लापरवाही गर्ने कर्मचारीलाई राष्ट्रिय समाचार समिति (रासस) ले नसिहतसहित ग्रेड रोक्का गरेको छ ।
राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी दुई साता अघि समितिको सात नम्बर प्रदेश कार्यालय, धनगढी भ्रमण आएको वेला कार्यालय सहयोगी दानबहादुर साउँदले पटकपटक काममा लापरबाही गरेको पाइएको थियो ।
कार्यकारी अध्यक्ष अधिकारीको टोली प्रदेश कार्यालयमा पुग्दा कार्यालय सहयोगी साउँद अनुपस्थित रहेको र हाजिरी रजिष्टर हेर्दा उनी नियमित रूपमा कार्यालय नआउने गरेको पाइएको बताइएको छ ।
कार्यालय सहयोगी साउँदले राति पनि कार्यालय कुर्नुपर्ने जिम्मेवारी भए पनि उनी दिउसो कार्यालय समयमा समेत अनुपस्थित हुने गरेको पाइएको थियो ।
काममा लापरवाही गरेको पाइएपछि यसअघि पनि रासस केन्द्रीय कार्यालयले उनको आठ महिनाको तलब रोक्का गरेको कार्यालय प्रमुख सिद्धराज भट्टले बताए ।
“राससमा जे गरे पनि चल्छ भन्ने परम्परा बसेको छ, अब यस्तो चल्दैन” अनुगमनपछि अध्यक्ष अधिकारीले भनेका थिए– “राससलाई नयाँ सोचका साथ अन्तर्राष्ट्रिय स्तरकै समाचार एजेन्सी बनाउन यस्ता प्रवृत्तिमा कडाईका साथ नियन्त्रण गर्छौ ।”
काममा लापरवाही गरेको पाइएपछि गत बिहीबार राससको केन्द्रीय कार्यालयले साउँदलाई नसिहतसहित ग्रेड रोक्का गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार