१२ श्रावण २०८१, शनिबार

पशुचौपाया व्यवस्थापन प्रयास



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाहरू व्यवस्थापन गर्न थालेको छ । छाडा चौपाया व्यवस्थापनको लागि वडा नम्बर ७ का वडाध्यक्ष धनबहादुर बमको संयोजकत्वमा पाँच सदस्यीय छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिमा वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढा, वडा नम्बर ६ का वडाध्यक्ष विनोद विश्वकर्मा, वडा नम्बर ८ का अध्यक्ष भीम बोगटी र वडा नम्बर ९ का वडाध्यक्ष कृष्णबहादुर शाह सदस्य रहेका छन् ।
घोडाघोडी नगरपालिकाभित्र रहेका छाडा पशुचौपायाहरूलाई वडा नम्बर ८ को सिस्ने गोठरीमा व्यवस्थित तरिकाले व्यवस्थापन गरिने समितिका संयोजक बमले बताए ।
उनले आजबाट नगरभित्र रहेका सबै छाडा पशुचौपायालाई संकलन गरी सिस्ने गोठरीमा लगिने बताए । नगरपालिकाले चार जना गोठालाहरूको पनि व्यवस्थापन गरिसकेको उनले बताए ।
उनले नगरपालिका भित्रका पशुचौपायाहरू र छाडा पशुचौपायाको लगत संकलन गरेर ट्याग लगाउने काम पनि अगाडि बढाइएको बताए ।
गत वर्ष घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाहरू नियन्त्रण गर्नको लागि १५ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार