१२ श्रावण २०८१, शनिबार

घोडाघोडी नगरपालिकामा तालाबन्दी खुल्यो



सुखड । घोडाघोडी नगरपालिकामा कार्यालयमा लगाइएको ताला शुक्रबार खुलेको छ । विद्यालय समायोजन तथा तथा तह मिलान प्रक्रियामा असन्तुष्टी जनाउँदै नेपाल विद्यार्थी संघले घोडाघोडी नगरपालिकामा ताला लगाएको थियो ।
नगरपालिकाले अगाडि बढाएको विद्यालय समायोजन तथा तह मिलान प्रक्रियाको विरोधमा उच्च अदालत दिपायलमा मुद्दा दायर भएपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
यसैबीच, उच्च अदालत दिपायलका न्यायधीश यज्ञप्रसाद बस्यालको एकल ईजलासले नगरपालिकाले गरेको विद्यालयहरूको समायोजन तथा तह मिलान प्रक्रियाको सबुत प्रमाण सहित अदालतमा उपस्थित हुन १५ दिनको आदेश दिएको जनाइएको छ ।
अदालतले आगामी १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
विद्यालय समायोजन प्रक्रियाको विरोधमा घोडाघोडी नगरपालिका वडा नम्बर ९ का खड्कबहादुर बुढाले प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालय, घोडाघोडी नगरपालिकाको कार्यालय, घोडाघोडी नगरपालिका वडा नम्बर ९ को कार्यालय, वडा नम्बर ९ स्थित कालिका माध्यामिक विद्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई धनगढी र घोडाघोडी नगरपालिका शिक्षा संयोजकलाई विपक्षी बनाई उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार