१२ श्रावण २०८१, शनिबार

टीकापुर घटनाको तीन वर्षपछि पहिलो पेसी



धनगढी । उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनाको तीन वर्षपछि अदालतमा बुधबार पहिलो पेसी भएको छ । कैलाली जिल्ला अदालतमा भएको पहिलो पेसीमा इजलासले मुद्दाका वादी तथा प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको छ ।
थरुहट/थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित आठ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो । घटनाको अर्को दिन थारू समुदायलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
बुधबार कैलाली जिल्ला अदालतमा भएको पहिलो सुनुवाइको प्रक्रिया सुरु भएको मुद्दाको पहिलो पेसीमा न्यायधीस परशुराम भट्टराईको इजलासले मुद्दाका वादी तथा प्रतिवादीलाई भदौ २४ गते साक्षी सहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायधीस भट्टराईको इजलासले भदौ २४ गते वादी तथा प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश भएकोले त्यसपछि घटनाको मुद्दामा सुनुवाईले निरन्तरता पाउने अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताए ।
जिल्ला अदालतले पहिलो पेसीको लागि गत २४ (साउन) गते समय तोकेको थियो । तर, जिल्ला न्यायाधीश परशुराम भट्टराईको स्वास्थ्यमा समस्या आएपछि र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेसीको तालिकामा नचढेको कारण देखाउँदै पेसी सारिएर बुधबारका लागि निर्धारण गरिएको थियो ।
यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाइको प्रक्रिया सुरु भएको थिएन । बुधबार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका अभियुक्तहरू तथा थारूवान नेता लक्ष्मण थारू, लाहुराम चौधरीसहितलाई अदालतमा उपस्थित गराइएको थियो ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ५६ जनामाथि मुद्दा चलाएको छ । हाल कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् । निर्वाचित सांसद रेशमले गत फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । केही दिन जिल्ला कारागारमा अनशन बसेका रेशमलाई त्यसपछि काठमाडौं चलान गरिएको थियो । हाल रेशम काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् । घटनामा संलग्न अरूहरू भने फरार रहेका छन् ।
थुनुवा रहेका अधियुक्तहरूमध्ये नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
यसैबीच, हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका सांसद चौधरीको आज सर्वोच्च अदालतमा पेसी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार