१२ श्रावण २०८१, शनिबार

सामुहिक बलात्कारको प्रयास भएको आरोप



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० वर्षीया एक महिलाले आफुमाथि गाउँकै केही युवाबाट बलात्कारको प्रयास भएको आरोप लगाएकी छन् ।
मंगलबार लम्कीमा पत्रकार सम्मेलन गर्दै महिलाले आफूमाथि गत २५ गते राति सामुहिक बलात्कारको प्रयास भएको बताइन् ।
उनले २५ गते राति १० बजेतिर गाउँका २२ वर्षका लक्ष्मण बोहरा र बलियाका मंगल गिरी लगायतको समूहले फोनमा अपशब्द प्रयोग गरी गालिगलौज गरेको र केही समयपछि घरमा सुतेको समयमा आफूमाथि बलात्कारको प्रयास भएको दावी गरिन् ।
उनले आफूले प्रतिकार गरेपछि उनीहरू असफल भएको बताइन् । उनले दोषिहरू विरुद्ध किटानी जाहेरी दिए पनि इलाका प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताइन् ।
उनले प्रहरीले उल्टै आफूमाथि मुद्दा लगाएर आफ्नो छोरालाई थुनामा राखेको बताइन् ।
दलित महिला संघ कैलालीकी अध्यक्ष बालकुमारी सुनारले सो घटनाबारे आफूलाई जानकारी भएपछि पीडित र प्रहरीसँग जानकारी लिएको बताइन् । उनले प्रहरीले घटनालाई आलटाल गरी स्थानीय स्तरमै मिलाउन दवाव दिइरहेको दावी गरिन् ।
इलाका प्रहरी कार्यालय लम्की इञ्चार्ज, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले घटनाको प्रकृति र उजुरीकर्ताको बयान फरक परेकाले अनुसन्धानमा केही ढिलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार