जिल्ला स्तरीय समन्वय बैठक
धनगढी । दलित तथा सामाजिक रूपमा वहिस्करणमा परेका समुदायको नागरिक शिक्षा, निर्वाचन तथा राजनीतिक सहभागिता अभियान परियोजना अन्तर्गत मंगलबार धनगढीमा जिल्ला स्तरीय सरोकारवालाहरूसँगको समन्वय तथा परियोजना अभिमुखीकरण कार्यक्रम तथा परियोजना सञ्चालन पूर्व जिल्ला स्तरीय समन्वय बैठक भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र आइएफईएस, यूएसएआइडीको संयुक्त साझेदारीको सञ्चालन हुन लागेको परियोजना कैलालीको गोदावरी नगरपालिका र जानकी गाउँपालिका तथा कञ्चनपुर, डोटी र बर्दियाको आठ स्थानीय तहमा लागू हुने जनाइएको छ ।
दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई संघीय संरचना र स्थानीयतहका बारेमा जानकारी दिन, समुदाय तथा समूहस्तरमा छलफल तथा सचेतना अभिबृद्धि गर्न, घरदैलो कार्यक्रम गर्न, मतदाता दर्ताका लागि लक्षित समुदायका मतदाता र नागरिकता सहयोग कार्यक्रम, नागरिक तथा मतअधिकार मञ्चको गठन, पुनर्गठन तथा सञ्चालन गर्न, सरोकारवालासँग समन्वय, सहकार्य र आवश्यकतामा आधारित पैरवी कार्यक्रम तथा विभिन्न सूचना तथा रेडियो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत रूपसिंह कार्कीले साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालय धनगढी, इलाका प्रशासन कार्यालय टीकापुर तथा निर्वाचन कार्यालयबाट मतदाता संकलन कार्य भएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक सुन्दरीदेवी चौधरी, नेकपाका लोकेन्द्र शाही, नेपाली काँग्रेसका जिल्ला सदस्य केशवराज मिश्र, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हेमकर्ण विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा दीपक विकको अध्यक्षतामा १५ सदस्यीय जिल्लास्तरीय नागरिक तथा मदतादा अधिकार मञ्च गठन गरिएको छ ।
मञ्चको कोषाध्यक्षमा चेतमान साउँद तथा सचिवमा सविना सुनार चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा रविना चौधरी, खडक विक, एकिन्द्र तिमिल्सिना, छत्रबहादुर टेलर, निर्मला विक, नन्दराज भट्ट, प्रेम चौधरी, अमर चौधरी लगायत चयन चएका छन् ।
कार्यक्रम संघका अध्यक्ष चक्रबहादुर विकको अध्यक्षतामा भएको थियो ।