१९ जेष्ठ २०८०, शुक्रबार

हरेरी महोत्सव हुँदै



धनगढी । धनगढीमा थारू समुदायले ‘हरेरी महोत्सव २०७५’ आयोजनाको तयारी गरेका छन् । थारू समुदायले हरेक वर्ष हरेरी पुजा लगाउने गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईको देउथानमा महोत्सवको तयारी सुरु भएको छ ।
हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरी महोत्सवको तयारीलाई तीब्र बनाएको जनाइएको छ ।
२०७३ सालदेखि सुरु भएको हरेरी महोत्सव यस वर्ष भाद्र ९ गतेदेखि ११ गतेसम्म चल्ने संयोजक कुलवीरले बताए ।
महोत्सवमा थारु समुदायको लोपोन्मुख मंग्रहवा नाच, लाठी नाच, सखिया नाच, एकल नृत्य तथा मगर समुदायको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहने हरेरी महोत्सवका प्रवक्ता विनय चौधरीले जानकारी दिए ।
त्यसैगरी, महोत्सवमा थारू समुदायका खानाका परिकारहरू– ढिक्री, अण्डी चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, आदिको स्टल रहने उनले बताए ।
‘भाषा संस्कृति, कला, भेष हमार, पहिचान : हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान’ भन्ने नाराका साथ हरेरी महोत्सवको आयोजना गरिने प्रवक्ता विनयले बताए ।
थारु समुदायका प्रमुख चार पूजा धुरिया पूजा, हरेरी पूजा, लवांगी पूजा र निकासी पूजा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार