१२ श्रावण २०८१, शनिबार

विविध कार्यक्रमसहित युवा दिवस मनाइयो



धनगढी । १९ औं अन्तर्राष्ट्रिय युवा दिवस आइतबार कैलाली सहित देशभरी विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘युवाका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ दिवसको अवसरमा कैलालीका १३ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा तथा प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले धनगढीमा विभिन्न कार्यक्रम गरेको छ ।
दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले प्रदेशमा युवाका समस्या र मुद्दाहरू तथा युवा नीति निर्माणका लागि सरोकारवालाहरूसँग छलफल गरेको छ ।
कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव ई. गोगनबहादुर हमालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत हरिप्रसाद उपाध्याय, नेपाल युवा परिषद कैलालीका अध्यक्ष शम्भु कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युथ भिजन २०२५, युवाको अवस्था, समस्या र नीतिका विषयमा सरोकारवालाहरूले छलफल गरेका थिए ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति, याक नेपालका पदाधिकारी, सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी लगायत ४१ जनाको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय युवा दिवस, २०१८ को अवसरमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १, बौनियास्थित बसन्तमुरारी माध्यामिक विद्यालयमा ‘युवाका लागि सुरक्षित स्थान’ शीर्षकमा वक्तृत्वकला प्रतियोगीता भएको छ ।
प्रतियोगितामा सो विद्यालयको कक्षा ९ र १० मा अध्यनरत २२ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा विष्णा खतिवडा प्रथम, कमल जोशी द्वितीय र राजन गौतम तृतीय भएका थिए, भने डिम्पल पुनमगरले सान्त्वना स्थान प्राप्त गरिन् ।
विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक भूमिप्रकाश बम, प्रतियोगिताका निर्णायक महेश्वर विनाडी, गीता कडायत, बर्दगोरिया गाउँपालिका शिक्षा शाखाका अधिकृत निरिक नन्दलाल कर्ण, स्टीम परियोजनाका फिल्ड मोनिटर विनिता चौधरी र विद्यालयका सहायक प्रधानाध्यापक राकेश हमालले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिकामा नगरस्तरीय युवा सञ्जालको आयोजनामा कार्यक्रम भएको छ ।
कार्यक्रममा स्थानीय नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा, वडा अध्यक्ष मनराज शाही, राजमति अधिकारी, घोडाघोडी नगरपालिका वडा नम्बर १० स्तरीय युवा सञ्जाल संयोजक पुर्ण बड्वाल, सावित्रा आचार्य, सुशीला चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, युथ लिडरसीप कर्नरको आयोजनामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा पनि कार्यक्रम भएको छ ।
कार्यक्रमको नगर प्रमुख महादेव बजगाईंले उद्घाटन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बटालाको अध्यक्षतमा भएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष जनक बम, कर्नरका सदस्य बलबहादुर थापा, महासचिव लक्ष्मणप्रसाद रेग्मी, लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी, पुनस्र्थापना केन्द्र टीकापुरका सञ्चालक कल्पेश कुँवर, असहायका लागि सहारा घरका सञ्चालक बलबहादुर बिष्ट, तारा आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक झांकी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार