१२ श्रावण २०८१, शनिबार

आदिवासी जनजाति र पत्रकारबीच अन्तरक्रिया



टीकापुर । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवसको अवसरमा टीकापुरमा आदीवासी जनजाति र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा सहभागीहरूले आदीवासी जनजाति समुदायका सवालमा पत्रकारहरूले अझैं सशक्त रूपमा कलम चलाउनुपर्ने र पत्रकारको संरक्षण र क्षमता अभिवृद्धि लागि सबै तहतप्काबाट सहयोग आवश्यक रहेको चर्चा गरे ।
सो अवसरमा जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले आदिवासी जनजातिको हक अधिकारको लागि सधैं सजग हुनुपर्ने बताए । उनले जनता विकास भन्दा पनि समस्यामा बढी केन्द्रित हुने गरेको बताए ।
टीकापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले आदिवासीहरू आफ्नो हक अधिकारको लागि सधैं क्रियाशील बन्नुपर्ने बताए ।
वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डंगौरा थारूले अरूमाथि दोषारोपण गर्नुभन्दा पनि आत्मसमीक्षा सहित अगाडि बढनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले सामाजिक अगुवाहरूले जिम्मेवारीका साथ आदिवासी जनजाति समुदायको हकहितमा अग्रसर हुन आग्रह गरिन् ।
नेपाल आदिवासी जनजाति महासंघ, जानकी गाउँपालिकाका अध्यक्ष दिनेश थारूले पत्रकार समाजको संवाहक भएकोले पत्रकारको क्षमता अभिवृद्धिमा स्थानीय तहले सहयोग गनुपर्ने बताए ।
फोनिज कैलालीका अध्यक्ष लखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामकृष्ण चौधरी, थारू पत्रकार महासंघका अध्यक्ष प्रेम चौधरी, थारू कल्याणकारी सभाका भागीराम चौधरी, रूपलाल चौधरी, जयप्रकाश दहित, नेपाल आदिवासी जनजाति नगर समन्वय समितिका अध्यक्ष चित्र राजी, समाजसेवी फिरुलाल चौधरी, गोपाल चौधरी, बाधुराम चौधरी, शर्मिला चौधरी, सीता चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
फोनिजका केन्द्रीय सल्लाहकार गणेश चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गीता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार