२५ जेष्ठ २०८०, बिहीबार

एसएमएस पठाएर संसद बैठक स्थगित



धनगढी । प्रदेश ७ को प्रदेश सभाको बैठक स्थगित भएको बारे एसएमएसमार्फत जानकारी गराइएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा प्रदेश सभा सदस्यलाई एसएमएस पठाएर स्थगित भएको जानकारी दिइएको थियो । प्रदेश सभा सदस्यहरूले बैठक किन स्थगित भयो भन्नेबारे जानकारी नदिइएको बताए ।
प्रदेश सभाको शनिबारको बैठकमा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र सेवासुविधा तय गर्न बनेको विधेयकबारे छलफलपछि पारित गर्ने र केही सांसदले सून्य समयमा बोल्ने कार्यसूची रहेको थियो ।
“शनिबारका दिन कर्मचारीको बिदा हुन्छ । बिदाका दिन काम गर्दा कर्मचारीले भत्ता पाउँदैनन्” एक जना प्रदेश सभा सदस्यले भने– “कर्मचारीको आग्रहमा नै सभामुखले बैठक स्थगित गरेको भन्ने बुझिएको छ ।”
प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार प्रदेश सभा सदस्यले बैठक भत्तावापत दैनिक सात सय ५० रुपैयाँ पाउने गरेका छन् । तर, कर्मचारीका लागि भने भत्ताको व्यवस्था गरिएको छैन ।
साउन १ गतेदेखि खाजा खर्च शीर्षकमा दिइने एक सय रुपैयाँ पनि कटौती गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सरकार गठन भएको ६ महिनामा शनिबार वा सार्वजनिक बिदाका दिन चार पटक संसद बैठक बसेको छ । बिदाका दिन बैठकमा काम गरेवापत सेवासुविधा नपाइने भन्दै कर्मचारीले शनिबार वा सार्वजनिक बिदाका दिन बैठक नराख्न सभामुखलाई दवाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्