११ श्रावण २०८१, शुक्रबार

आमाको माया छात्रवासलाई इजरायलबाट आर्थिक सहयोग



धनगढी । वैदेशिक रोजगारीमा रहेकी एकजना महिलाले धनगढीस्थित आमाको माया छात्रवासमा बस्ने बालकहरूलाई आर्थिक सहयोग प्रदान गरेकी छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा रहेकी दिया चापागाईंले सो छात्रवासमा बस्ने बालकहरूलाई आर्थिक सहयोग प्रदान गरेकी हुन् । नेपालको पर्वत जिल्लामा घर भएकी चापागाईंले आफ्ना दुई छेरी नबिना र नमुनाको सम्झनामा नेपाली रुपैयाँ १४ हजार ५१ सहयोग गरेकी हुन् ।

पत्रकार दीपक ओलीमार्फत उपलब्ध गराएको सो रकम आज एक कार्यक्रमकाबीच प्रदेश ७ का सांसद तथा नेपाली काँग्रेस प्रदेश ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले आमाको माया छात्रवास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीलाई हस्तान्तरण गरेका थिए ।

सांसद रावलले वैदेशिक भूमिमा रहेर पनि चापागाईंले छात्रबासका बच्चाहरूको लालनपालनका लागि आर्थिक सहयोग उपलब्ध गराएर ठूलो काम गरेको बताए । चापागाईंले असहाय, टुहुरा तथा गरिब घरपरिवारका बच्चाहरू बस्ने आमाको माया छात्रबासमा बस्ने बच्चाहरूलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेको र उनीबाट अरुले पनि सिक्नुपर्छ सांसद रावलले भने ।

रकम हस्तान्तरणपछि सांसद रावल र छात्रबासका बच्चाहरूसहित छात्रबास परिसरमा सामुहिक तस्बिर खिचाउँदै ।

सहयोग रकम बुझ्दै छात्रबास सञ्चालक समितिका अध्यक्ष बेदकुमार चौधरीले सात समुन्द्रपारी रहेकी चापागाईंले यसअघि पनि आर्थिक सहयोग उपलब्ध गराएको बताउँदै सहयोगी मनकी चापागाईंको सहयोगले छात्रबासका बच्चाहरूको लालनपालनमा ठूलो राहत पुगेको बताए ।

२६ जना बच्चाहरू रहेको यो छात्रबासमा असहाय, टुहुरा र घरको अवस्था एकदमै कमजोर रहेका बालकहरू बस्दै आएका छन् । छात्रबास मुठ्ठीदानबाट सञ्चालन हुँदै आएको र छात्रवासमा रहेका बालकहरूलाई विभिन्न स्कुलसँग समन्वय गरेर निशुल्करुपमा पढाउने गरेको छात्रवास सञ्चालक समितिका उपाध्यक्ष शारदा शाहले बताइन् ।

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलकी अध्यक्ष समेत रहेकी चापागाईंले यसअघि पनि यो छात्रबासका बच्चाहरूलाई आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार