२२ असार २०७९, बुधबार

विद्यालय समायोजन : कतै विरोध जारी, कतै स्थगित



सुखड । विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया सच्चाइनुपर्ने माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले घोडाघोडी नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार पनि जारी रह्यो ।
घोडाघोडी नगरपालिकाले नगर भित्रका विभिन्न विद्यालयलाई सरोकारवालासँग समन्वय र आवश्यक छलफल नै नगरी एकलौटी रूपमा समायोजन तह मिलान गरेकोमा दोस्रो पटक अनिश्चितकालीन तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका घोडाघोडी नगर सभापति कलकजंग सिंहले बताए ।
उनले नगरपालिकामा तालाबन्दी गरिएको तेस्रो दिनसम्म पनि नगर प्रमुख तथा नगरपालिकाबाट कुनै पनि चासो देखिन नसकेको बताए ।
उनले यस वर्ष विद्यालय समायोजन र कक्षा तह मिलान प्रक्रिया स्थगित नहुन्जेलसम्म निरन्तर आन्दोलन जारी रहने बताए ।
अर्कोतिर घोडाघोडी नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया अगाडि वढाइ निजी श्रोतका शिक्षकहरुलाई विस्तापित गर्न खोजेको भन्दै आन्दोलित सुखड श्रोत केन्द्र निजीस्रोत शिक्षक संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
नगरपालिकाले गरेको निर्णय प्रति बिरोध जनाउँदै बिहीबार शैक्षिक हड्ताल गरेको संगठनले शुक्रवार नगरपालिकासँग सहमती भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको संगठनका नगर अध्यक्ष चेतबहादुर बोहराले बताए ।
उनले विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रियाबाट विस्थापित शिक्षकहरुलाई तत्काल साविककै विद्यालयमा हाजिरी गराइने र साउन महिनाभित्रै औपचारिक छलफलगरी अगाडि बढ्ने सहमती भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार