१२ श्रावण २०८१, शनिबार

निजी स्रोतका शिक्षकहरू आन्दोलित



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया अगाडि बढाएर निजी श्रोतका शिक्षकहरूलाई विस्तापित गर्न खोजेको भन्दै सुखड श्रोत केन्द्र अन्तर्गतको निजीस्रोत शिक्षक संगठन आन्दोलित भएको छ ।
आन्दोलन स्वरुप निजी श्रोतका शिक्षकहरूले घोडाघोडी नगरपालिकामा बिहीबार शैक्षिक हड्ताल गरे ।
घोडाघोडी नगरपालिकाले निजी श्रोत विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन कार्यविधि बनाउँदा निजी श्रोत शिक्षक समितिलाई सँगै राखेर निर्माण गर्ने सहमती भए पनि हाल नगरपालिकाले एकलौटी ढंगबाट निर्देशिका निर्माण गरी लागू गर्न निर्देशन दिएकाले बाध्य भएर आफूहरूले शैक्षिक हड्ताल गर्नु परेको संगठनका नगर अध्यक्ष चेतबहादुर बोहराले बताए ।
निजी स्रोतलाई विस्थापित गर्ने उदेश्यले निमाण भएको निजी स्रोत शिक्षक कर्मचारी व्यवस्थापन कार्यविधि संंशोधन गरीनुपर्ने माग उनले गरे ।
त्यस्तै, सुखड श्रोत केन्द्र निजीस्रोत शिक्षक संगठनले कार्यविधिमा उल्लेख स्वयंसेवक शिक्षक शव्द हटाइनुपर्ने, समायोजन तथा तह मिलानमा परेका विद्यालयका शिक्षकहरूलाई विद्यार्थी समायोजन हुने विद्यालयमै समायोजन गरिनुपर्ने, छलफलमा आउने शिक्षकहरूलाई नगरपालिकाले रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, स्वेच्छिक अवकासमा जाने शिक्षकहरूलाई कम्तीमा दुई लाख रुपैयाँ सहित प्रति वर्ष एक महिनाको दरले रकम उपलब्ध गराउनुपर्ने लगायतका माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार