११ श्रावण २०८१, शुक्रबार

सहकारी संस्थाका कर्मचारीमाथि छुरा प्रहार



धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा एउटा सहकारी संस्थाका कर्मचारीमाथि बिहीबार छुरा प्रहार भएको छ ।
किसान बहुद्देश्यीय सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका वडा नम्बर ५ का पुष्कर न्यौपानेलाई मुखमा मास्क लगाएका दुई जनाले छुरा प्रहार गरेको चौमला इलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार घाइते न्यौपानेको दायाँ हात र पेटमा चोट लागेको छ ।
मोटरसाइकलमा रहेका उनलाई रोकेर आक्रमण गरेपछि आक्रमणकारी भागेका थिए । बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कंदै गरेका न्यौपानेलाई बालुवागडा नजिक बाटोमा आक्रमण भएको हो । बुधबार दिउँसो पौने १२ बजे घटना भएकोमा ढिलो गरी खबर आएको प्रहरीले बताएको छ ।
घाइतेको धनगढीको सिपी अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार