११ श्रावण २०८१, शुक्रबार

घोडाघोडी नगरपालिकामा तालाबन्दी



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल विद्यार्थी संघले बुधबार पुन: तालाबन्दी गरेको छ । आफ्ना मागहरूलाई नगर प्रमुखले वेवास्ता गरेको तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघ, घोडाघोडी नगर समितिले बताएको छ ।
गत १७ गते विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया तत्काल स्थगित गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको थियो । तालाबन्दी भएको केही समयपछि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख दिनेशकुमार गुप्ता, घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय प्रमुुख दीपककुमार आचार्य, वडा नम्बर १ का अध्यक्ष मनराज शाही र नेविसंघका नगर संयोजक कलकजंग सिंह बीचको छलफलमा साउन १८ गते वार्ता टोली बनाई अगाडि बढ्ने सहमति भएपछि ताला खोलिएको थियो ।
तर, सहमति भएको एक हप्ता पुग्न लाग्दा पनि घोडाघोडी नगरपालिका सहमति अनुसार अगाडि नबढेको हुनाले पुन: तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघ घोडाघोडी नगर समितिका संयोजक सिंहले बताए ।
केही दिनयता नेपाली काँग्रेस तथा पार्टीका भातृ संगठनहरूले घोडाघोडी नगरपालिकाले गरेको विद्यालय समायोजन तथा तह मिलान प्रक्रिया तत्काल सच्याइनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
घोडाघोडी नगरपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि २०७४ बनाएर विद्यालयहरूको मिलान तथा कक्षा/तह घटाउने काम अगाडि बढाएको थियो ।
विद्यालयको गुणस्तर, भौतिक पूर्वाधार, शिक्षाको सिकाई, विद्यार्थीहरूको सहभागिता लगायत विभिन्न मापदण्ड बनाएर नगरपालिकाले सातवटा सामुदायक विद्यालय र नौवटा तह मिलान गरेको थियो ।
घोडाघोडी नगरपालिकाका प्रमुख चौधरीले आफू कार्यालय बाहिर रहेको र तालाबन्दी गरिएको खबर आएको तथा ताला खोल्न विभिन्न पक्षसँग औपाचारिक रूपमा छलफल गरिरहेको बताए । नगरपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प हुनुको साथै सेवा ग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार