११ श्रावण २०८१, शुक्रबार

पशुपालक किसान तथा व्यवासायीको आन्दोलन जारी



धनगढी । पशुपालक किसान तथा व्यवसायीहरूले कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
किसान तथा व्यवसायीहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी सडकमा दूध पोख्नुका साथै अण्डा फुटाउँदै तथा कखुराका चल्ला सडकमा छोडेर विरोध जनाए ।
आन्दोलनमा उत्रिएका पशुपालक किसान तथा व्यावसायीहरूले कैलालीमा भेटेरिनरी अस्पताल र विज्ञ केन्द्र स्थापना हुनुपर्ने माग सुनुवाई नभएकाले आन्दोलन चर्काउनु परेको बताए ।
संघर्ष समितिका संयोजक दिनेश लम्सालले संघीय सरकारको मन्त्रीपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले ढिलाई गरेको आरोप लगाए । उनले आफूहरूका जायज माग पुरा नहुन्जेलसम्म आन्दोलनका कार्यक्रम जारी रहने दोहोराए ।
संघिय सरकारको मन्त्रीपरिषद्ले पशु अस्पतालका लागि स्थान तोक्न तीन साता अगाडि नै निर्देशन दिएको बताइन्छ । मन्त्रीपरिषदले प्रदेशको कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र बाजुरामा पशुविज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
यता प्रदेश नम्बर ७ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेश सरकारलाई त्यसको अधिकार नभएको बताउँदै आएकी छन् । साउन ३२ गतेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश सरकारलाई केन्द्र तोक्न अधिकार दिएको छ । पाँच ओटा जिल्लामा भएको कर्मचारीको दरबन्दी नौ जिल्लामा बाड्न सकिने किसानहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार