११ श्रावण २०८१, शुक्रबार

विप्लव नेकपाका नेता पुन रिहा लगत्तै फेरि पक्राउ



धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई अदालतले धरौटीमा रिहा गर लगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।
कैलाली जिल्ला अदालतले सोमबार उनलाई ४५ हजार रुपैयाँ धरौटीमा रिहाई गरेलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीले उनलाई अदालतको गेटबाहिरबाट पक्राउ गरेको बताइएको छ ।
उनलाई पक्राउ गरी बाँके पठाइएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले बताए । प्रहरी उपरीक्षक घिमिरेका अनुसार विप्लव नेकपाका नेता पुनविरुद्ध बाँकेमा आगलागी घटनामा संलग्न रहेको मुद्दा दायर रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार घटनामा संलग्न रहेको भन्दै कैलाली जिल्ला अदालतमा नेता पुनविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो । नेता पुनलाई गत मंगलबार बर्दियाबाट पक्राउ गरी उनलाई कैलाली ल्याइएको थियो ।
नगर प्रमुख चौधरीमाथि गत फागुन महिनामा उनकै घरमै गोली प्रहार भएको थियो । सो क्रममा विप्लवका अन्य चारजना कार्यकर्तालाई पक्राउ गरिए पनि पछि संलग्नता रहेको प्रमाण नभेटेपछि प्रहरीले छोडेको थियो । प्रहरीले गोली प्रहार गरेको चार महिनापछि पोलिटव्यूरो सदस्य पुनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार