१२ श्रावण २०८१, शनिबार

निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि



धनगढी । केही दिन अघि मृत अवस्थामा फेला परेकी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । १३ वर्षीया निर्मलाको गत १० गते भीमदत्त नगरपालिकाको निम्बुखेडामा उखुबारीमा शव फेला परेको थियो ।
घटनाको ११ दिन भइसक्दा पनि प्रहरीले अझैं दोषिहरूको पहिचान गर्न सकेको छैन । बालिका निर्मलाको शवको पोष्टमार्टम रिपोर्ट अनुसार उनको बलात्कार पछि हत्या गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिविआई) को एक टोली समेत परिचालन गरिएको छ । तर, अहिलेसम्म घटनामा संलग्न अभियुक्तहरूको पहिचान समेत हुन सकेको छैन ।
स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला सो दिन बिहान ११ बजे साथीको घरमा पढ्न गएकी थिइन् । मृतक बालिकाका परिवारजनका अनुसार साँझसम्म पनि उनी घर नफर्किएपछि प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले अर्को दिनमात्र खोजतलास गरेको थियो ।
निर्मलाको उखुबारी मै हत्या भएको थियो वा अन्यत्र हत्या गरेर त्यहाँ शव फालिएको थियो भन्ने अझैं स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले निर्मलाको घाटी थिचेर हत्या भएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार