१२ श्रावण २०८१, शनिबार

हिन्दू राष्ट्र फर्काउन महाअभियान– राप्रपा सहमहामन्त्री गुरुङ



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री चन्द्रबहादुर गुरुङले नेपाललाई पुन: हिन्दू राष्ट्र बनाउन महाअभियान सञ्चालन गर्ने बताएका छन् ।
“हामी अहिले जनताको समर्थनका लागि जिल्ला–जिल्लामा गएर जनवर्गीय संगठन विस्तार गरिरहेका छौं” शनिबार धनगढीमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको पहिलो जिल्ला अधिवेशनमा उनले भने– “केही दिनमै महाअभियान सञ्चालन गरिने छ ।”
सहमहामन्त्री गुरुङले नेपाली जनताको मत भन्दा पनि जबरजस्ती नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएको दोहोर्‍याए । भने– “नेपाल हिन्दू राष्ट्र नभएसम्म राष्ट्रको समृद्धि सम्भव छैन ।” उनले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन आम नागरिकका साथ र समर्थनका लागि आह्वान गरे ।
उनले राप्रपा र राप्रपा (प्रजातान्त्रिक) बीच विचार र सिद्धान्तमा सहमति नभएसम्म एकीकरण सम्भव नभएको बताए । “हिन्दू राष्ट्र र राजतन्त्र फर्काउने धारणामा सहमति खोजिदै छ” उनले भने
कार्यक्रममा राप्रपाका प्रदेश संयोजक श्याम शाहले पार्टीलाई बलियो बनाउन पार्टीका भातृ संगठनहरू जनताको घरसम्म पुग्नुपर्ने र पार्टीको विचार, सिद्धान्तबारे जानकारी दिनुपर्ने बताए ।
पार्टीका सहायक महामन्त्री राजाराम गडतोलाले धनी र गरिबका लागि फरक–फरक शिक्षा रहेकोले सबैका लागि सर्वसुलभ तथा गुणस्तरीय शिक्षाको पहुँच आवश्यक रहेको बताए ।
कार्यक्रम विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष कमल बम रजवारको अध्यक्षतामा भएको थियो ।
यसैबीच, सम्मेलनले अभिषेकनाथ लोकको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको सदस्यमा रेनु पाण्डे, राजु सापकोटा, दीपक पाण्डे, अंगीत जोशी, विनोद शाही, राजन मिश्र, आशिष बुडाल, यादव ओझा, स्वस्तिका सिंह, भरत कुँवर, ठक्कर बोगटी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार