२५ जेष्ठ २०८०, बिहीबार

पत्रकार धानुकमाथि आक्रमण प्रकरण : विभिन्न पक्षबाट छानबिन तथा कारवाहीको माग



धनगढी । कैलालीका पत्रकार नवराज धानुकमाथि भएको हातपात तथा कुटपिट घटनाको नेपाल पत्रकार महासंघसहित विभिन्न पक्षबाट गम्भीर चासो व्यक्त गरिएको छ । महासंघ सहितका संस्थाहरूले घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
पत्रकार धानुनमाथि कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहले बिहीबार साँझ धनगढीमा हातपात तथा कुटपिट गरेको बताइएको छ । पत्रकार धानुकले खेलकुद विकास समितिका पदाधिकारीबारे सामाजिक सञ्जालमा राखेको स्टाटसलाई लिएर सिंह र उनीबीच विवाद भएको बताइन्छ ।
नेपाल पत्रकार महासंघ ७ नम्बर प्रदेश समिति र कैलाली शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार नवराज धानुक

महासंघका प्रदेश महासचिव योगेश रावलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफूलाई चित्त नबुझेको कुराको कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै सञ्चारकर्मीलाई कुटपीट गर्नु निन्दनीय कार्य भएको उल्लेख छ । विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघ कैलालीका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।
त्यस्तै, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) प्रदेश नम्बर ७, महिला पत्रकार समूह, आदिवासी जनजाति पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पत्रकार धानुकमाथि भएको कुटपिट घटनाको छानबिन गरी दोषिमाथि कारबाहीको माग गरेका छन् ।
यसैबीच, कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सिंहले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार धानुकबाट साउन २ गते आफूलाई गिज्याउने गरी फेसबुकमा स्टाटस राखेको उल्लेख गरेका छन् ।
सिंहले आफूले साउन ३ गते “धानुकले फेक आइडी बनाएर मेरो पारिवारिक विषयमा प्रवेश गरी सामाजिक सञ्जालमार्फत खेलवाड गरेको” भनेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उल्लेख गरेका छन् ।
सिंहले विज्ञप्तिमा भनेका छन्– साउन १७ गते सांझ निज धानुकसँग भेट भएका बेला सामाजिक सञ्जालमा किन बदनाम गरेको भनेर भनाभन भएको हो । सिंहले सोही विषयलाई मिडियासँग जोडेर अतिरञ्जित बनाइएको दावी गरेका छन् । उनले आफ्नो कुनै मिडिया हाउस वा पत्रकारसँग कुनै व्यक्तिगत रिसइवी नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्