११ श्रावण २०८१, शुक्रबार

छाडा पशुचौपायामसक्त गाउँपालिका भएको दावी



बौनिया । बर्दगोरिया गाउँपालिकाले बिहीबारदेखि छाडा पशुचौपायामुक्त भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष बलिराम चौधरीले लामो समयदेखि ठूलो समस्याका रूपमा रहेको छाडा पशुचौपायामुक्त गाउँपालिका बनेको दाबी गरे ।
उनले बर्दगोरिया गाउँकार्यपालिकाको गत साउन १३ गतेको निर्णयअनुसार “हाम्रो हात, किसानको साथ, कृषि तथा पशुसेवा संस्था” ले छाडा पशुचौपाया व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।
सो संस्थालाई गाउँपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्नका लागि उपलब्ध गराएको जग्गाको घेरवार गर्नका साथै गोठालाहरूको पारिश्रमिकको जिम्मा गाउँपालिकाले लिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष डबल भुलका अनुसार २० जना पशु विज्ञसहित छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्दै बर्दगोरिया गाउँपालिकालाई छाडा पशुचौपाया मुक्त बनाउने कार्य अघि बढाइएको छ । उनले छाडा पशुचौपायाको मलमुत्रबाट कम्पोष्ट मल उत्पादन गरिने बताए ।
एक महिनाअघि बर्दगोरिया गाउँपालिकाभित्रका छाडा पशुचौपायालाई जुम्ला पठाउने क्रममा विविध कारणले बीच बाटोबाटै फिर्ता गरिएका थिए ।
छाडा पशुचौपायालाई बर्दगोरिया वडा नम्बर ४ स्थित झरझरीया सामुदायिक वनमा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार