१२ श्रावण २०८१, शनिबार

सामाजिक परिचालकहरूको आन्दोलन जारी : मुख्यमन्त्री कार्यालयमा धर्ना



धनगढी । प्रदेश ७ का विभिन्न निकायमा कार्यरत सामाजिक परिचालकहरूले बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिएका छन् ।
आन्दोलनमा रहेका सामाजिक परिचालकहरूले स्थानीय तहका वडाहरूमा एक पटकका लागि उमेरको हदबन्दी नलगाई योग्यताका आधारमा दरबन्दी कार्य गरी कर्मचारी समायोजन गर्न माग गर्दै कार्यालयमा दुई घण्टा धर्ना दिएको जनाएका छन् ।
नेपाल समाजिक परिचालक संघ, प्रादेशिक कार्य समितिले बुधबार प्रदेश सभा अगाडी धर्ना दिएका थिए । मुख्यमन्त्रीलाई माग सम्बोधन गर्न अनुरोध गर्दै धर्ना दिएको आन्दोलन परिचालन समितिका संयोजक माधवप्रसाद जोशीले बताए । पाँच दिनभित्र माग पुरा नभए कडा आन्दोलनका कार्यक्रम अघि बढाइने सामाजिक परिचालक कर्मचारी संघले जनाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राज्यमन्त्री स्तरीय निर्णयबाट गत २०७४ साल पुस १४ गते सामाजिक परिचालकलाई अवकास दिएको थियो । नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरी ३८ दिन लामो संघर्ष पश्चात चैत १३ गतेदेखि असार मसान्तसम्मका लागि करार सेवा अवधि थप गरेको थियो ।
संघर्ष समितिका संयोजक जोशीले असार ३१ सम्मका लागि सेवा अवधि थप भए तापनि साउनदेखि केन्द्रीय दायित्व नरहने र स्थानीय तहले आफै श्रोत व्यवस्थापन गरी आवश्यकताका आधारमा निरन्तरता दिन सकिने आसयको परिचपत्र देशभरका स्थानीय तहमा गरेको बताए । उनले सरकारको यो निर्णयले सामाजिक परिचालकहरू पुन: बेरोजगार हुनुपरेको बताए ।
उनले असार मसान्त पश्चात कतै निरन्तरता दिएको र कतै श्रोत अभाव देखाई निरन्तरता नभएको बताए । प्रदेशका नौ वटा जिल्ला गरी प्रदेशमा चार सय ५६ सामाजिक परिचालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार