१४ कार्तिक २०८१, बुधबार

विद्यालय समायोजन विरुद्ध विरोध प्रदर्शन



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले अवैज्ञानिक तरिकाले सुरु गरेको विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रिया खारेज गरिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार विरोध प्रदर्शन गरेको छ ।
नगरपालिकाले विद्यालयहरूसँग छलफलनै नगरी मनोमानी रूपमा सुरु गरेको समायोजन तथा तह मिलान प्रक्रिया तत्काल सच्चाउन माग गर्दे नेपाली काँग्रेस तथा काँग्रेस निकट संघ संगठनहरूले सोमबार विरोध प्रदर्शन गरेको जनाएको छ ।
विरोध सभामा काँग्रेसका कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति खेम चौधरीले स्थानीय सरकारले शिक्षा क्षेत्रमा राजनीति गर्न खोजेको आरोप लगाए ।
उनले विद्यालयको गुणस्तर सुधारको लागि विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रिया आवश्यक रहेको बताउँदै घोडाघोडी नगरपालिकाले गुणस्तरीय विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य ओझेलमा पार्ने काम गरिरहेको दावी गरे ।
उनले नगर प्रमुखलाई अवैज्ञानिक समायोजन तथा कक्षा तह मिलान प्रक्रिया रोक्न पटकपटक माग गर्दा पनि कुनै सुनुवाइ नभएकाले जनता सडकमा ओर्लिन बाध्य भएको बताए ।
क्षेत्रीय उपसभापति लक्ष्मण शाहीले नगर प्रमुखले तानाशाही प्रवृत्ति देखाउन खोजेको आरोप लगाउँदै जनहित विपरितका निर्णय तत्काल नसच्चाइए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
विरोध सभामा घोडाघोडी नगरपालिकाका अभिभावक, विभिन्न विद्यालय व्यवस्थापन समिति सदस्यहरू र १२ वटै वडाका काँग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार