१२ श्रावण २०८१, शनिबार

महासंघको जनवकालत अभियान समापन



धनगढी । राष्ट्रिय अपाङ महासंघ–नेपाल ७ नम्बर प्रदेशको जनवकालत अभियान समापन भएको छ । सोमबार महासंघले आयोजना गरेको पत्रकार भेटघाटमा अभियान उपलब्धिमूलक भएको जानकारी दिइयो ।
महासंघले जनवकालत अभियानका क्रममा अपांगता भएका व्यक्तिहरूको हकअधिकार, अपांगमैत्री भौतिक संरचना र नीति लगायतका माग गर्दै पत्रकार सम्मेलन, जनचेतनामूलक र्‍याली, प्रदेश स्तरका मन्त्रालय तथा सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना भएको जनाएको छ ।
भेटघाट कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मानबहादुर साउँदले महासंघले कैलाली र कञ्चनपुरमात्र नभई समग्र नौ वटै जिल्लामा रहेका अपांगता भएका व्यक्तिहरूको हकअधिकार र अपांगमैत्री वातावरणका लागि आवाज उठाउने काम गरिरहेको बताए । उनले सुगम क्षेत्रभन्दा दुर्गममा रहेका अपांगता भएका व्यक्तिहरूको अवस्था दयनीय रहेकोले अझ बढि ध्यान दिनुपर्ने बताए ।
केन्द्रीय सदस्य साउँदले प्रदेश सरकारलाई दुर्गम क्षेत्रमा रहेका अपांगता भएका व्यक्तिहरूको अवस्थामा सुधार ल्याउने गरी नीति तथा कार्यक्रम अघि बढाउन माग गरे । उनले प्रदेशको कानुन निर्माण प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको सहभागिता गराउन पनि प्रदेश सरकारसँग अनुरोध गरे । केन्द्रीय सदस्य साउँदले प्रदेश सरकारको नीति तथा कार्यक्रम अपांगमैत्री हुन नसके स्थानीय तहमा पनि कार्यान्वयन गर्न नसकिने बताए ।
उनले अपांगता भएका व्यक्तिहरूको शिक्षा तथा स्वास्थ्यमा पहुँच पुर्‍याउन प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरे ।
पत्रकार भेटघाटमा महासंघका प्रदेश अध्यक्ष भीमबहादुर शाहले प्रदेशमा स्थापना भएका स्रोत, विशेष र समावेशी विद्यालयहरू सरकारले ध्यान नदिँदा ओझेलमा परिरहेको गुनासो गरे ।
उनका अनुसार दार्चुला र बैतडीमा रहेको समावेशी विद्यालय अहिले बन्द अवस्थामा छन् भने अन्य जिल्लाका विद्यालयहरू पनि जनशक्ति र स्रोत साधन अभावले बन्द हुने अवस्थामा पुगेका छन् ।
उनले जनवकालत अभियानअन्तर्गत अधिकांस सरोकारवाला निकायहरूलाई ज्ञापनपत्र बुझाउन नसकिएकोले आगामी दिनमा जिल्ला अदालत, स्थानीय तह, स्वास्थ्य बिमा बोर्ड लगायतमा ज्ञापनपत्र बुझाइने बताए ।
उनले जनवकालत अभियानका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले ज्ञापनपत्र कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता गर्नु र प्रदेश सभाका सामाजिक विकास समितिका वरिष्ठ सदस्य देवराज पाठकले प्रदेश सभामा मागहरूलाई उठाउने प्रतिवद्धता गर्नु अभियानको उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार