बालिका हत्या घटनाको विरोधमा प्रदर्शन
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ ।
हत्या काण्डका अपराधीलाई कारबाहीको माग गर्दै कैलाली बहुमुखी क्याम्पसका बीएसडब्ल्यु विद्यार्थी समूह र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा दवाव मुलक र्याली प्रर्दशन गरिएको हो ।
क्याम्पस गेटबाट सुरु भएको र्यालीमा विद्यार्थी एक हौं, दोषिलाई कारवाही गर, पीडितलाई न्याय देउ, बालिका हत्यारालाई फासी देउ जस्ता नारा लगाउँदै जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय पुगी कोण सभामा परिणत भएको थियो
कार्यक्रममा स्ववियु सचिव कृष्ण रोकाया, बीएसडब्ल्यु समूहका तेज बोहरा, स्ववियु सदस्य ललित ओझालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मृतक पन्तप्रति श्रद्धाञ्जली
त्यस्तै, भीमदत्त नगरपालिकाकाले मृतकका परिवारलाई कार्यालयबाट सहयोग गर्ने प्रतिवद्धता गरेको छ । नगर कार्यपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी पीडित परिवारले उठाएको मागमध्ये कार्यालयबाट सकिने सहयोगका लागि प्रतिवद्धता गरिएको छ ।
विज्ञप्तिमा नगर प्रमुख सुरेन्द्र विष्टले मृतक पन्तका परिवारसित भेट गरी मृतक पन्तप्रति श्रद्धाञ्जली र पन्त परिवारमा समवेदना व्यक्त गरेको उल्लेख गरिएको छ ।
नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले प्रकाशित गरेको विज्ञप्तिमा सबै नगरवासीमा धैर्यधारण र अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।