६ पुष २०८१, शनिबार

बुद्धमन्दिरमा मोतीबिन्दु सल्यक्रिया सेवा सञ्चालनमा



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १, बुद्धमन्दिरस्थित आँखा उपचार केन्द्रले मोतीबिन्दु लगायतका आँखाको शल्यक्रिया सेवा सञ्चालन गरेको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल अन्तर्गत सञ्चालित सो केन्द्रमा नेत्र विशेषज्ञद्वारा आइतबारदेखि प्रत्येक महिनाको दोस्रो आइतबार मोतीबिन्दु लगायतका आँखाका बिरामीहरूको शल्यक्रिया सेवा सञ्चालन गरिने जनाएको छ ।
आइतबारका दिन सञ्चालित पहिलो शल्यक्रिया कार्यक्रममा गेटा आँखा अस्पतालका निर्देशक एवं नेत्र विशेषज्ञ डाक्टर सुरेशराज पन्तद्वारा १३ जना मोतीबिन्दुका बिरामीहरूको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।
उनले आँखा उपचार केन्द्र धनगढी गेटा आँखा अस्पतालको चौथो सर्जिकल सेन्टरको रूपमा विकसित गरिएको बताए ।
हालसम्म गेटा आँखा अस्पतालले यस अन्तर्गतका आँखा अस्पताल महेन्द्रनगरमा प्रत्येक शुक्रबार, टीकापुरमा प्रत्येक महिनामा दुई पटक र डडेल्धुरामा प्रत्येक दुई महिनामा एक पटक आँखाको शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको छ ।
यस प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच बढाउन गेटा आँखा अस्पतालले यस प्रदेशका ९ वटै जिल्लाहरूमा १२ वटा शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको र १३ औंं शाखाको रूपमा कैलालीको भजनीमा समेत भजनी नगरपालिका सितको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गर्ने पहल भइरहेको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार