२७ माघ २०८१, आईतवार

‘महर्षि अत्रि तथा ओझा वंश’ पुस्तक विमोचन



धनगढी । सप्त ऋषिहरूमध्येक एक महर्षि अत्रिको वर्णन तथा केदारमानस खण्डको रहनसहन, भेषभूषा, धर्म संस्कृति र इतिहास झल्काउने ‘महर्षि अत्रि तथा ओझा वंश’ नामक पुस्तक विमोचन शनिबार धनगढीमा विमोचन गरिएको छ ।
शनिबार धनगढीमा आयोजित एक समारोहबीच प्राध्यापक डाक्टर एकराज ओझाले पुस्तकको विमोचन गरे ।
सो अवसरमा प्राध्यापक डाक्टर ओझाले महर्षि अत्रिको इतिहास तथा वंशजबारे पुस्तकले विस्तृत रूपमा वर्णन गरेको चर्चा गरे ।
भोजराज ओझाद्वारा लिखित तथा प्रकाशित सो पुस्तकमा महर्षि अत्रिको जन्मदेखि वंशज, पूर्वजहरूको योगदान आदिबारे विस्तृत रूपमा वर्णन गरिएको छ ।
प्राध्यापक डाक्टर ओझाले पुस्तकमा साहित्यिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायतका विषयवस्तु समेटिएकाले पुस्तकका माध्यमबाट समाजमा धरोहर निर्माण गर्न तथा जग बसाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य वासुदेव पाण्डेयले पुस्तकमा सामान्य वंशजको वर्णनको विषय मात्र नभएर सुदूरपश्चिमका मानिसको समग्र धार्मिक, सांस्कृतिक, रहनसहन, भेषभुषा लगायतका विषय समेटेकाले सराह्रनीय काम भएको बताए ।
उनले भने– पुस्तक लेखेर वृक्ष रोपेको जस्तै काम भएको छ अब यसका हाँगाबिंगा फैलिदै जानेछन् ।
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक गणेशराज जोशीले पुस्तक लेखनले नेपाली साहित्य समाजको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको बताए ।
प्राध्यापक चेतराज ओझाले पुस्तकमा सुदूरपश्चिमको गाउँ कुना तथा नेपालका विभिन्न स्थानमा बसेका ओझा वंशजको चिनारी रहेकाले आउँदा पुस्तालाई आफ्नो इतिहासबारे जानकारी पाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीले पुस्तकले समग्र अत्रि वंशजको मात्र नभई सुदूरपश्चिम साहित्य समाजको समेत शोभा बढाइ दिएको भन्दै खुसी व्यक्त गरे ।
पुस्तकका लेखक भोजराजले पुस्तकमा एउटा निश्चित गोत्रको ईतिहास र महर्षि अत्रिका बारेमा उल्लेख गरिनुका साथै सुदूरपश्चिम लगायत नेपालका केही भू–भागमा बस्ने मानिसहरूको भेषभुषा, भाषा संस्कृति, रहनसहन, इतिहास, धर्म, परम्परा लगायत पक्ष समेट्ने प्रयास गरेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले खोज अनुसन्धान र परिश्रमका साथ दुई दशक लगाएर तयार भएको पुस्तक निकै महत्त्वपूर्ण रहेको बताए ।
विमोचन कार्यक्रमको नन्दकृष्ण जोशीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार