१२ श्रावण २०८१, शनिबार

अस्पतालमा विरामीको चाप बढ्यो



धनगढी । वर्षायाम शुरु भएदेखि कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।
चिकित्सकहरूले वर्षायाममा झाडापखाला, जन्डिस, औलो, छालाको रोग, पेटको रोग, ज्वरो, कालाज्वर लगायतका जस्ता रोगको संक्रमण बढ्ने गरेको बताए । चिकित्सकहरूले वर्षायाममा सरुवा रोगको संक्रमण फैलिने, मौसमी रुघाखोकी तथा भाइरसजन्य रोगको जोखिम बढ्ने भएकाले सजगता अपनाउन आग्रह गरेका छन् । त्यस्तै, लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगबाट जोगिन पनि सतर्कता अपनाउन सुझाव दिएका छन् ।
यो मौसममा लाग्ने अधिकांश रोगहरूको सम्बन्ध खानपिन तथा सरसफाइसँग जोडिने चिकित्सकहरूको भनाइ छ । विशेषगरी खुल्ला ठाउँमा राखिएका खानेकुरा तथा पानीको कारण यस मौसममा रोगको संक्रमण हुने गर्छ । गर्मी मौसममा खाना छिटो बिग्रने भएकाले बासी र सडेगलेका खानेकुरा नखान चिकित्सकहरूको सल्लाह रहेको छ ।
बर्खायाममा सरुवा रोगको खतरा बढी हुने भएकाले गर्मी मौसममा स्वास्थको बढी ख्याल गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार