३० चैत्र २०८१, आईतवार

अस्पताल विकास समितिहरू खारेज



धनगढी । सरकारले देशभरीका क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पताल विकास समितिहरू समिति खारेज गरेको छ ।
मन्त्रीपरिषदको गत असार ३२ गतेको बैठकले अस्पताल विकास समितिहरू खारेजको निर्णय गरेको जनाइएको छ । मन्त्रीपरिषद् बैठकले विकास समिति गठन आदेश, अस्पताल व्यवस्थापन समिति कार्यविधि, २०७३ र स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ विघटन तथा खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदको निर्णय कार्यान्वयन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ६ गतेको सचिवस्तरीय निर्णय समेत गरेको छ ।
खारेज भएका विकास समिति, कार्यविधि र निर्देशिकाबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरूको सञ्चालन तथा व्यवस्थापन, विकास समिति तर्फका कर्मचारीहरूको व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह सम्बन्धी कार्य सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट हुने र विघटित समितिहरूको नाममा रहेको चल अचल सम्पत्ति प्रदेश तथा स्थानीय तहले तोकेको नियकालाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।
यसका साथै विघटन तथा खारेज भएका स्वास्थ्य संस्थामा मनोनय वा नियुक्त भएका पदाधिकारीहरू स्वत: पदमुक्त भएका छन् । सरकारले यस्ता पदाधिकारी जिम्मा रहेको संस्थाको अभिलेख तथा सम्पत्ति सम्बन्धित स्वास्थ्य संस्थालाई बरबुझारथ गर्न पनि निर्देशन दिएको छ ।
मन्त्रालयले सामाजिक विकास मन्त्रालय, अस्पताल, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा खारेज गरेको आदेश परिपत्र गरेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर ७ मा सेती र महाकाली गरी दुई अञ्चल अस्पताल, डडेल्धुरा उपक्षेत्रीय अस्पताल र सातवटा जिल्ला अस्पताल रहेका छन् ।
मन्त्रालयले परिपत्र गरेको आदेश अनुसार सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पताल विकास समिति २०४५ सालमा गठन भएका थिए । डडेल्धुरा उपक्षेत्रीय अस्पताल विकास समिति २०६२ सालमा गठन भएको जनाइएको छ ।
कलाली जिल्लास्थित टीकापुर अस्पताल विकास समिति २०६०, अछाम जिल्लास्थित मंगलसेन अस्पताल विकास समिति र डोटी अस्पाल विकास समिति २०६२, बझाङ, बैतडी, बाजुरा र दार्चुला अस्पताल विकास समिति २०६९ सालमा गठन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार