२ जेष्ठ २०८१, बुधबार

स्थानीय तहमा संगठनात्मक संरचनाले अझैं पूर्णता पाएनन्



धनगढी । कैलालीका स्थानीय तहहरूले अझैंसम्म संगठनात्मक संरचनालाई पूर्णता दिन सकेका छैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको संरचना अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा विभिन्न महाशाखा, शाखा, इकाई र केन्द्र रहने छन् । भने, गाउँपालिकामा शाखाको मातहतमा उपशाखा रहने छन् । तर, सो संरचना अनुसार हालसम्म कैलालीका स्थानीय तहहरूले तयारी गरे पनि पूर्णता दिन भने सकेका छैनन् ।
देश संघीय संरचनामा गएको एक वर्षभन्दा बढी भइसक्दा पनि स्थानीय तहहरूमा कर्मचारी र भवन अभावका कारण संगठन संरचनाले पूर्णता पाउन नसकेको स्थानीय तहहरूले जनाएका छन् ।
जिल्लामा रहेका अधिकांश सरकारी कार्यालय स्थानीय तहमा सेवा केन्द्रका रूपमा गाभेर गरिएको पुन:संरचना अनुसार हरेक स्थानीय तहमा महिला, बालबालिका तथा सामाजिक विकास शाखा, स्वास्थ्य सरसफाई तथा पोषण सुरक्षा शाखा, गैरसरकारी संस्था परिचालन तथा नियमन शाखा, माध्यमिक शिक्षा शाखा र विषयगत शाखा तथा सेवा केन्द्र रहने छन् । पर्यटन, उद्योग, कृषि सेवा केन्द्र, वन तथा वातावरण, बाल विकास केन्द्र, विद्यालय, ट्युसन सेन्टर, खेलकुद समिति, नापी शाखा र मालपोत शाखा लगायत रहने छन् ।
संघीय संरचनाअघि यी विषयका कार्यालय र कर्मचारी जिल्ला सदरमुकाम वा जिल्लाभित्र थोरै ठाउँमा मात्रै हुने गर्थे । तर, अहिले नयाँ संरचनाअनुसार कार्यालय सबै स्थानीय तहमा पुगे पनि कर्मचारी पदपूर्ति नहुँदा अझै सर्वसाधारणले संघीयता कार्यान्वयन भएको महशुस गर्न सकेका छैनन् ।
मन्त्रालयले गाउँपालिकामै पनि कम्तिमा ६० जना कर्मचारी तथा दैनिक सेवा प्रवाहका लागि प्रत्येक वडा कार्यालयमा न्यूनतम चार कर्मचारी रहने प्रस्तावना तयार पारेको थियो । सो प्रस्तावना अनुसार २० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकामा भने न्यूनतम ७० जना र वडा कार्यालयमा चार जना कर्मचारीको व्यवस्था रहने उल्लेख गरेको थियो ।
उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको मातहातमा रहने गरी सात वटा महाशाखा, २३ वटा शाखा रहने र एक दर्जन जति केन्द्र रहने जनाइएको छ । सो संरचना अनुसार धनगढी उपमहानगरपालिकामा एक सय ६० जना कर्मचारी आवश्यक पर्ने छ । हाल धनगढी उपमहानगरपालिकामा एक सय चार जना कर्मचारी कार्यरत रहेका छन् ।
त्यस्तै, एउटा नगरपालिकामा ११ वटा शाखा र पाँच वटा फाँट रहने उल्लेख छ । सो अनुसार एउटा नगरपालिकामा एक सय १५ कर्मचारी आवश्यक पर्ने संगठन संरचनाले देखाएको छ । एउटा नगरपालिकामा नौ जना प्राविधिक र अन्य कर्मचारी रहने छन् ।
कैलालीको गौरीगंगा नगरपालिकामा ३९ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ११ जना मात्र कर्मचारी कार्यरत रहेको नगरपालिकाका प्रशासन शाखाका जौकला सार्कीले बताइन् । उनका अनुसार नगरपालिकामा प्राविधिक नौ र अन्य १९ जना कर्मचारीको पूर्ति हुन सकेको छैन ।
त्यस्तै, टीकापुर नगरपालिकामा चार जना प्राविधिक कर्मचारी रहेका छन् भने अन्य ३५ गरी ४९ जना कर्मचारी रहेका छन् । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले भने– हामीले संगठन संरचना नगरसभाबाट पारित गरिसकेका छौं र सो संरचनाअनुसार अघि बढ्ने तयारी गरिरहेका छौं । उनले दरबन्दी अनुसार संघीय सरकारले कर्मचारी उपलब्ध गराएमा कुनै समस्या नहुने बताए ।
मन्त्रालयले गाउँपालिकामा राजपत्र अंकित तृतीय श्रेणीको कार्यकारी अधिकृत रहने र त्यसको मातहतमा सामान्य प्रशासन, शहरी पूर्वाधार, सामाजिक विकास, योजना अनुगमन तथ्यांक, राजस्व तथा आर्थिक प्रशासन, आर्थिक विकास तथा आन्तरिक लेखा परीक्षण शाखा रहने जनाएको छ । त्यस्तै, ती शाखाको मातहत उपशाखाहरू रहने छन् । गाउँपालिकामा स्वास्थ्य, कृषि, पशुपंक्षी, विद्युत, सिभिल इन्जिनियरिङका प्राविधिक जनशक्तिदेखि शिक्षा, घरेलु, उद्योगजस्ता दर्जनौं विषयगत कर्मचारी रहनेछन् ।
कैलालीका २५ हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा प्राविधिक नौ र अन्य १६ गरि २५ जना कर्मचारी आवश्यक पर्ने मन्त्रालयको संरचनामा उल्लेख छ । तर, जिल्लाका छ वटै गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी छैनन् । जानकी गाउँपालिकाका लेखापाल गायत्री बोगटीका अनुसार गाउँपालिकामा दरबन्दी अनुसार दुई जना लेखापाल, नौ जना सवईन्जिनियर र एक ईन्जिनियर रिक्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार