२ जेष्ठ २०८१, बुधबार

डाक्टर केसी आमरण अनशन : समर्थनमा मुलुकका विभिन्न स्थानमा प्रदर्शन जारी



धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधारको मागसहित २३ दिनदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन, र्‍याली, सहितका कार्यक्रम जारी रहेका छन् ।
यस क्रममा आइतबार नेपाल तरुण दलले धनगढीमा प्रदर्शन गरेको छ । डाक्टर केसीले उठाएका मागहरू तत्काल पुरा गर्नुपर्ने भन्दै तरुण दलले आइतबार धनगढीमा प्रदर्शन गरेको हो ।
‘अधिनायकवादी ओली सरकारलाई डाक्टर गोविन्द केसीका माग पुरा गर्न दवाव दिन निकालिएको जुलुसमा प्रहरी हस्तक्षेप भएको’ भन्दै तरुण दल कैलालीले त्यसको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि नाराबाजी समेत गर्‍यो ।
काठमाडौंमा नेपाल तरुण दलले शनिबार गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको विरुद्धमा सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि करिब एक घन्टा धर्ना समेत दिइएको थियो ।
यसैबीच, तरुण दल कैलालीले आइतबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आन्दोलनको क्रममा तरुण दलका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले लाठी चार्ज गरी घाइते बनाउनुका साथै शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकोमा घोर विरोध गरिएको छ ।
प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको टाउकोमा गम्भीर चोट लागेको तथा अन्य दर्जनौ नेता कार्यकर्ता घाइते भएको ज्ञापनपत्रमा उल्लेख छ । तरुण दल कैलालीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षप रोक्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
तरुण दलले डाक्टर केसीका सम्पूर्ण माग पुरा गर्न पुन: दोहोर्‍याएको छ । तरुण दल कैलालीका अध्यक्ष बमले डाक्टर केसीका मागप्रति वेवास्ता गर्नु, जनतामाथि बोझ थप्दै कर बढाउनु, बढ्दो महंगी नियन्त्रण नगर्नुले सरकार जनताप्रति उदासिन भएको आरोप लगाए ।
तरुण दलले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर प्रदेशदेखि केन्द्रसम्म जनतालाई आतंकित पारिरहेको आरोप लगाएको छ । तरुण दलका जिल्ला प्रवक्ता अमृत बिसीले सरकारले जनताका जायज माग पुरा गर्न आनाकानी गरेमा आन्दोलनका थप कार्यक्रम अघी बढाइने बताए ।
नेपाल तरुण दल धनगढी उपमहानगर समिति अध्यक्ष भक्त बिष्टले जनताले ठूलो आशा गरेको दुई तिहाई बहुमतको सरकारले राणा शासन चलाउन खोजेकाले तरुण दलले सडकमा उत्रिनु परेको बताए । जनतालाई सरकारको अनुभूति हुने गरी सरकारले काम नदेखाएमा तरुण दल सरकार बिरुद्ध शसक्त रूपमा लाग्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार