२ जेष्ठ २०८१, बुधबार

शिक्षक महासंघद्वारा सरकारसमक्ष माग प्रस्तुत



धनगढी । नेपाल शिक्षक महासंघ कैलाली शाखाले शैक्षिक क्षेत्र सुधारका लागि सरकार समक्ष विभिन्न २६ बुँदे माग प्रस्तुत गरेको छ ।
शनिबार धनगढीमा आयोजित शिक्षकका मागबारे खुल्ला सामाजिक वहस तथा छलफल कार्यक्रममा संघले शिक्षकको क्षमता अभिवृद्धिदेखि शिक्षा क्षेत्रको सुधारका लागि २६ बुँदे मागबारे जानकारी गराएका थिए ।
संघका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीले शिक्षाका नीति र कार्यक्रम संघीय सरकारले नै गनर्् पर्ने बताए । आफ्ना माग पुरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
उनले शिक्षाको अधिकार स्थानीय तहमा दिँदा शिक्षामा वेथिति आउने भन्दै यस विषयमा सरोकारवालाले समयमै ध्यान दिनुपर्ने बताए । “सात सय ४३ स्थानीय तहले आ–आफ्नै तरिकाले शिक्षा नीति निर्माण गर्दा शिक्षकको बेजोग हुने देखिन्छ” उनले भने–“हरेक स्थानीय तहले आफ्नै नीति बनाउने हो भने विद्यार्थीलाई कसरी पढाउने, त्यसैले एउटा शिक्षा नीति हुन पर्छ र त्यसलाई सबैले कार्यान्वयन गर्नु पर्छ ।”
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले शिक्षक र शिक्षा व्यवस्थित नहुँदा शिक्षा क्षेत्रको सुधार हुन नसकेको बताए । उनले शिक्षा क्षेत्रमा सरकारको लगानी धेरै भएपनि प्रतिफल भने त्यो अनुसार आउन नसकेको बताए । उनले सरकारले शिक्षकका जायज मागलाई सम्बोधन गरेर शिक्षालाई आधुनिकीकरण र व्यवस्थित बनाउनुपर्ने बताए ।
निजी शैक्षिक संस्था भन्दा सामुदायिक विद्यालयको समग्र अवस्था राम्रो हुँदाहुँदै पनि नतिजा हरेक वर्ष खस्कदो अवस्थामा आउनुमा शिक्षक दोषी रहेको नेकपाका रणबहादुर चन्दले बताए । शिक्षक महासंघले राखेका मागहरूमा आफूले सक्दा सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेस कैलाली शाखाका उप–सभापति प्रकाशबहादुर बमले देशको जनसंख्या बढ्दै जाँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुको कारण खोज्नुपर्ने बताए । स्थानीय तहले फरक–फरक शैक्षिक नीति निर्माण गर्दा त्यसले शिक्षामा झनै समस्या आउने भन्दै उनले त्यस तर्फ पनि सोच्न सरोकारवालाको ध्यानाकर्षण गराए । उनले शिक्षकका मागहरूमा आफ्नो पार्टीले समर्थन जनाउने घोषणा गरे ।
नेकपाका नेता लालबहादुर सोडारीले समस्या मात्रै ल्याउनु भन्दा समस्या समाधानका उपाय बारेमा पनि खोजतलास हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भेष बम, अनेरास्ववियूका जिल्ला सदस्य डम्मबर भट्टराई लगायत विद्यार्थी नेताले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनु पर्नेमा जोड दिएका थिए ।
महासंघका कैलाली अध्यक्ष भीमबहादुर बलायरको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी नेता, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
महासंघ कैलालीका सहअध्यक्ष रोयनाथ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनराज यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार