२ जेष्ठ २०८१, बुधबार

समायोजन हुने कार्यालयको सम्पत्ति विवरण अझैं तयार भएन



धनगढी । स्थानीय तहमा समायोजन हुने कार्यालयहरूको सम्पति विवरण समेत अहिलेसम्म तयार गर्न सकेको छैन ।
साउन १ गतेदेखि जिल्लास्थित विभिन्न कार्यालयहरू स्थानीय तहमा जाने भनिए पनि हालसम्म स्थानीय जिल्ला समन्वय समितिले समायोजनको प्रक्रिया समेत सुरु गरेको छैन ।

फाइल तस्बिर

असार मसान्तसम्म जिल्लाबाट सेवा दिइरहेका कार्यालयहरूको हालसम्म समायोजन प्रक्रिया समेत सुरु गरिएको छैन । केही जिल्लाहरूमा सम्पति विवरण कार्य सुरु गरिसके पनि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा भने केन्द्रबाटै स्पष्ट निर्देशन नआएकाले समायोजनमा ढिलाई भएको बताउँछन् । दुई/तीन दिनभित्र स्पष्ट निर्देशन आइसक्ने जानकारी आएकाले निर्देशनसँगै कार्यालयहरू समायोजनको काम अगाडि बढाइने उनले बताए ।
सरकारले साउन १ गतेदेखि कृषि, पशुसेवा, प्राविधिक, वन, बाल कल्याण समिति, शान्ति समिति, सहकारी, भू–संरक्षण, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका, जिल्ला अस्पताल, सिँचाइ, खानेपानी, सहरी विकास डिभिजन र जिल्ला खेलकुद विकास समिति खारेज गरेको गरेको थियो ।
खारेज भएका कार्यालयहरूमध्ये जिल्ला शिक्षालाई शिक्षा समन्वय इकाई र जिल्ला वन कार्यालयलाई डिभिजन कार्यालयमा परिणत गर्ने भएको छ । जिल्ला सरकारी कार्यालयहरू खारेज भएसँगै जिल्ला वन कार्यालयहरू अब डिभिजन कार्यालयको रूपमा रहने भएका हुन् । यता कैलालीमा भने दुईवटा डिभिजन कार्यालय रहने भएका छन् ।
कैलालीमा धनगढी र पहलमानपुरमा गरी दुई वटा वन डिभिजन कार्यालय रहेन छन् । यस्तै कैलालीमा रहेका अन्य इलाका वन कार्यालय सव डिभिजनका रूपमा रहने छन् ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले दुई डिभिजन कार्यालय र २० वटा सब डिभिजन कार्यालय रहने गरी निर्णय भएको जानकारी दिए । वनलाई प्रदेश सरकारको माथहतमा राख्ने गरी डिभिजन तथा सब डिभिजन कार्यालय खोल्न लागिएको प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार