२ जेष्ठ २०८१, बुधबार

विपद प्रतिकार्य सम्बन्धी कार्यक्रम



लम्की । समुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम शुक्रबार कैलालीको लम्कीमा भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको आयोजना र बलिया उपशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमा समुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम परियोजना लागू भएको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का स्थानीय समाजसेवी, विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रमका स्वयम् सेवक, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विपद् आउनु भन्दा पूर्व र विपद् आइसकेपछि समुदाय र समुदायमा गठित स्वयंम्सेवक भूमिकाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले विपतपछि उद्दार गरिएका पीडितका लागि आफूहरूसँग तत्काल प्रदान गर्न सकिने केही राहत सामग्री रहने भए तापनि उद्दार सामग्री नभएको भन्दै स्थानीय सरकार र जिल्ला शाखासँग सहयोगको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका कोषाध्यक्ष मोतीप्रसाद उपाध्यायले समुदायमा विपद् आएको समयमा वा विपद् आउन नदिन स्थानीय स्तरबाट सतकर्ता तथा उद्दार कार्य तत्काल होस्, भन्ने उद्देश्यका साथ समुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल डुडेझारीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमबहादुर रावलले आफूहरू विपद् व्यवस्थापन र सहकार्यका लागि सधै लागि रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद् पनि विपद्को समयमा आफूहरूले गरी रहेको सहयोग र उद्दारका बारेमा जानकारी दिँदै रावलले विपद् प्रतिकार्यका लागि विद्यार्थीहरूलाई समेत जनचेतना जगाइरहेको बताए । विपद् आएको समयमा आफूहरूसँग उद्दार सामग्री नभएको बताउँदै विपद् जोखिम न्यूनीकरणमा लम्कीचुहा नगरपालिका गम्भीर नरहेको बताउँदै दु:ख समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीका मन्त्री लोकराज जोशी, लम्कीचुहा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने, लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा, अमेरिकी रेडक्रसका नेपालस्थित कार्यक्रम संयोजक तीर्थराज जोशी, समुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम कैलालीका कार्यक्रम संयोजक खगेन्द्र जोशी, इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशी, लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य दिमाया थापामगर, प्रेमबहादुर चौधरी, नगर स्वाथ्य प्रमुख जयन्ती विसी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव विनोद आचार्यले गरेका थिए ।
कार्यक्रममा वडा सदस्य दिपक बहादुर शाहीको संयोजगत्वमा १७ सदस्ययीय विपद् ब्यावस्थापन प्रतिकार्यका लागि समुदायमा सहकार्य समिति समेत गठन गरिएको छ । जसको सचिवमा शिक्षक बद्रिप्रसाद जैशी र कोषाध्यक्षमा उद्दार समितिका स्वयम्सेवक हेमबहादुर बस्नेत चयन भएका छन् भने सदस्यमा शसस्त्र प्रहरी बल डुडेझारी बेस क्याम्पका प्रतिनिधि लगायतका रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार