२ जेष्ठ २०८१, बुधबार

गरिब घर परिचयपत्र वितरण शुरु



धनगढी । धनगढी उपमहानगरपालीकाले आफ्ना सबै वडामा गरिब घर परिचयपत्र वितरण कार्य शुक्रबारदेखि सुरु गरेको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढी वडा नम्बर १ का अति गरिब, मध्यम गरिब र सामान्य गरिब परिवारका एक/एक जनालाई परिचयपत्र दिएर अभियानको आरम्भ गरे ।
धनगढी–१, शान्ति टोलकी अति गरिब (रातो रंगको) परिवारको परिचयपत्र बुझ्ने गंगादेवी कोलीले भनिन्– “राज्यले हामीलाई गरिबको परिचयपत्र दिएको छ । सोही आधारमा सहयोग र सुविधा दिनुपर्छ ।” उनले फेरि पनि गरिब हुँ भन्दै अड्डाबाट प्रमाणित गराउनुपर्ने चलनको अन्त्य हुनुपर्ने बताइन् ।
नगरप्रमुख वडले नगरपालिकाको वडा नम्बर १ एयरपोर्ट मुक्त कमैया शिविरकी मैनादेवी चौधरीलाई (मध्यम गरिब) पहेलो रंगको, एयरपोर्ट शिविरकै सहावीर चौधरीलाई (सामान्य गरिब) निलो रंगको परिचयपत्र वितरण गरेर परिचय वितरण गरेका थिए ।
उपमहानगरपालिकाले पहिलो चरणमा वडा नम्बर १ बाट वितरण सुरु गरेको जनाएको छ । शुक्रबारबाट नै १९ वटै वडामा परिचयपत्र वितरण गर्ने कार्य सुरु भएको छ । गरिब घर परिचयपत्र कसरी वितरण गर्ने, वितरणको क्रममा आइपर्ने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा वडा सचिव र वितरणमा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण गर्ने काम भएको पनि धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए । कर्मचारीहरूलाई निर्देशिका अनुसार नै परिचयपत्र वितरण गर्न सिकाइएकाले धेरै समस्या नआउने बताए ।
गरिब घर परिचयपत्रका आधारमा राज्यले दिने सहुलियतमा यहाँहरूलाई प्राथमिकता दिन्छ नगरप्रमुख वडले भने, “यसलाई सुरक्षित राख्नु होला ।”
धनगढीमा पाँच हजार आठ सय पाँच जनालाई गरिब परिचयपत्र वितरण गरिने धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले बताए । जसमध्ये दुई हजार आठ सय पाँच, मध्यम गरिब एक हजार आठ सय ३७ र समान्य गरिब एक हजार दुई सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ । उनले भने, “अति गरिबले रातो, मध्यम गरिबले पहेंलो र सामान्य गरिबले निलो परिचयपत्र पाउने भएका छन् ।”
देशभरीमा आठ वटा जिल्लामा नमुनाका रूपमा गरिब घर परिचयपत्र वितरण हुँदैछ । सरकारले २०६९ सालमा गरिबहरूको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार