३ जेष्ठ २०८१, बिहीबार

गौरक्षाका लागि प्रदेश सरकार गम्भीर हुन आग्रह



धनगढी । अनन्त श्री विभुषित बालसन्त जगतगुरु मोहनशरण देवाचार्यले गौरक्षाका लागि प्रदेश सरकार र स्थानीय तह गम्भीर हुन आग्रह गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा निर्मित गौशालाको उद्घाटनका लागि बिहीबार धनगढी पुगेका बालसन्त देवाचार्यले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने– “पहिलेभन्दा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू गौरक्षामा केही सकारात्मक देखिएका छन् । अझ जिम्मेवार बनाउन उनीहरूसँग केही दिनमा छलफलमा गर्ने छु ।”

फाइल तस्बिर

उनले गौरक्षाका लागि भीमदत्त नगरपालिकाले निर्माण गरेको गौसाला यस प्रदेशका लागि उदाहरण हुने बताए ।
उनले भने– “भीमदत्त नगरपालिकाले घरमा भएका गाईवस्तुमा ट्याग लगाएको छ । अब ती गाई कुनै घरधनीले छोडेमा कारबाही गर्ने काम अघि बढाएको छ भने सडकमा रहेका गाईबस्तुलाई गौशालामा राखिने छ । उनले यो काम त्यहाँबाट शुरु भएकाले विस्तारै त्यसको सिको अन्य स्थानीय तहले पनि गर्ने विश्वास व्यक्त गरे ।”
उनले गाई कसरी पाल्ने, घरमा कसरी राख्ने, गाईको महत्त्व लगायतका विषय भीमदत्त नगरपालिकाले निर्माण गरेको गौसालाबाट आम सर्वसाधारणले सिक्न सक्ने बताए । सो गौसालाका यहि ९ गते बालसन्त जगतगुरुले गौमातालाई गौसालामा प्रवेश गराई उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कञ्चनपुरको महाकाली तटमा निर्माण भइरहेको नेपाल आमाको ७५ फिट मूर्तिले पूर्व र पश्चिमलाई जोडेको बताउँदै जगतगुरु देवाचार्यले तीन करोड नेपाली जनताले नेपाल आमालाई ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताए । उनले सुदूरपश्चिममा बन्न लागेको नेपाल आमाको मूर्ति र सुनसरीको कोशी नदी तटमा बनेको कुम्भले भावनात्मक एकतालाई जोडेको बताए ।
उनले भने, “पश्चिमका नेपालीहरू कुम्भ मेला भर्न सुदूर पूर्व कोसी नदीको तटमा र पूर्वका तमाम जनता नेपाल आमालाई हेर्न महाकालीमा आउनेछन् ।”
पौराणीक र शास्त्रीय रूपमा सुदूरपश्चिम महत्त्वपूर्ण हुँदाहुँदै पनि त्यसलाई महत्त्व दिन नसकिएको जनाउँदै उनले आफ्नो प्रयासले यहाँका थुपै्र तीर्थस्थलहरूको प्रचार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार